सुन तस्करी प्रकरण : फरार आरोपी अमला रोक्का पक्राउ

असार ६, २०८२

कान्तिपुर संवाददाता

Gold smuggling case: absconding accused Amala Rokka arrested

काठमाडौँ — चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको अभियोगमा फरार रोल्पाकी माओवादी नेतृ अमला रोक्का पक्राउ परेकी छन् । माओवादी निकट रोल्पा–काठमाडौं सम्पर्क मञ्चकी पूर्व उपाध्यक्षसमेत रहेकी रोकालाई शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंको टोखाबाट पक्राउ गरेको हो ।

उनीविरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भेपलगायत उपकरणमा लुकाएर ल्याएको र २ साउन २०८० मा सिनामंगलबाट बरामद तस्करीको करीब ६१ केजी सुन प्रकरणमा जिल्ला अदालत काठमाडौंमा मुद्दा विचाराधीन छ ।

भेपमा तस्करी गरेर ल्याएको सुनको अनुसन्धान सुरु भएपछि उनी फरार भएकी थिइन् । सुनको अनुसन्धान सुरु भएपछि पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको घरमा ‘सेल्टर’ लिएर बसेकी उनी त्यहीँबाट भागेकी थिइन् । त्यसपछि उनी पश्चिम नेपालको बाटो भएर भारत पुगेको अनुसन्धानबाट खुले पनि पक्राउ पर्न सकेकी थिइनन् । त्यसपछि सीआइबीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरेर पनि खोजी गरेको थियो ।

उनी फरार रहेकै अवस्थामा सीआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले २९ जनालाई प्रतिवादी बनाएर ३ अर्ब ५० करोड ३० लाख ९१ हजार ९ सय ७५ रुपैयाँ बिगो कायम गरी ३१ भदौ २०८० मा मुद्दा दायर गरेको थियो । सीआईबीका एसएसपी होबिन्द्र बोगटीले रोक्का विरुद्धको मुद्दा विचाराधीन रहेकाले उनलाई आइतबार कार्यालय समयमा जिल्ला अदालत काठमाडौंमा पेस गरिने बताए । समय अभावका कारण शुक्रबार अदालत पेस गर्न नसकिएको उनको भनाइ छ ।

तिब्बती मूलका बेलजियन नागरिक दावा छिरिङले माओवादी सम्बद्ध रोक्कासँग विवाह गरेसँगै यो नेटवर्कमा माओवादीका केही नेता पनि जोडिएका थिए । दावा छिरिङ सुरुमा तिब्बती शरणार्थी बनेर नेपाल भित्रिएर त्यसपछि रोक्कासँग विवाह गरी सुन तस्करीको धन्दा चलाएको अनुसन्धानबाट खुलेको थियो ।

यही क्रममा दावा छिरिङ रोक्कामार्फत पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन (हाल माओवादी उपाध्यक्ष) र माओवादी नेता वर्षमान पुनको परिवारसँग निकट भएर त्यसकै आडमा तस्करी धन्दा चलाएको खुलेको थियो । अपराधबाटै आर्जित सम्पत्तिले रोक्काले ठमेलमा भियाना होटल र अरु कम्पनी खोलेर तस्करीको सुनबाट आर्जित रकम लगानी गरेको पनि पाइएको थियो ।

यता दावा छिरिङकै साझेदार अर्का सुन तस्कर दावा जिन वाङको माओवादीकै उपाध्यक्ष कृष्णबहादुर महराको परिवारसँग जोडिएको थियो । यसरी माओवादीका प्रभावशाली नेताहरुको परिवार नै तस्करको नेटवर्कमा जोडिएपछि रोक्का रातारात फरार भएकी थिइन् । उनी त्यसबेलै पक्राउ परेको भए उनीसँगका मोबाइल र अन्य डिभाइसबाट तस्करको नेटवर्क तथा यससँग जोडिएका नेतासम्म पुग्न सकिने आधार प्रशस्त भएपनि समयमै पक्राउ गर्न नसक्दा तस्करीको ठूलो जालोलाई संरक्षण गर्ने पक्षसम्म पुग्न नसकिएको त्यसबेलाको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृत बताउँछन् ।

कान्तिपुर

Link copied successfully