प्रतिनिधिसभा बुधबारसम्मका लागि स्थगित

जेष्ठ २६, २०८२

कान्तिपुर संवाददाता

House of Representatives adjourned till Wednesday

काठमाडौँ — प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजेमात्र बस्ने भएको छ। सोमबार बसेको बैठकमा विपक्षीको अवरोधका कारण कार्यसूचीमा प्रवेश नै नगरी आधा घन्टाका लागि स्थगित भएकोमा दलहरूबीच सहमति नभएपछि संसद् सचिवालयले सूचना टाँसेर बुधबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको जनाएको हो।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र उच्चस्तरीय छानविन समिति गठन हुनुपर्ने माग गर्दै विपक्षी दलहरूले १३ जेठदेखि प्रतिनिधिसभा बैठक अवरुद्ध पार्दै आएका छन्।

यसअघि बसेको बैठकमा सभामुख देवराज घिमिरेले दलहरूबीच सहमतिको प्रयास भइरहेकाले बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए। तर विपक्षी दलहरूले माग पूरा नभएसम्म संसद् सञ्चालन हुन नदिने अडान लिएपछि बैठक स्थगित गरेका थिए। 

सभामुख घिमिरेले संसद्‌को अवरोध हटाउन निरन्तर छलफल गर्दै आएका छन् भने दलहरूले आपसी छलफल र समन्वयलाई गति दिएका छन्। सत्तारुढ दल कांग्रेसले संसद्‌मा अवरोध हटाउने विषयमा विपक्षी दलहरूसँग छुट्टाछुट्टै छलफल गरिरहेको छ। उक्त प्रकरणमा माओवादी केन्द्र खुकुलो भएपनि राष्ट्रिय स्वतन्त्र पार्टी र कांग्रेसबीच भने सहमति हुन सकेको छैन।

कान्तिपुर

Link copied successfully