आज दिनभर देश-दुनियाँमा के-के भयो ?

जेष्ठ १२, २०८२

कान्तिपुर संवाददाता

What happened in the country and the world today?

काठमाडौँ — भिजिट भिसा प्रकरणमा प्रमुख प्रतिपक्ष माओवादीले गृहमन्त्री लेखकको राजीनामा माग्ने निर्णयदेखि प्रधानमन्त्रीको उत्तेजनापूर्ण अभिव्यक्तिप्रति मानव अधिकार आयोगको ध्यानाकर्षण र विपक्षीद्वारा बहिष्कार गरिएको भेनेजुएलाको निर्वाचनमा राष्ट्रपति मदुरोको सत्ता गठबन्धन विजयी भएकोसम्मका खबर आज चर्चामा रहे।

प्रमुख प्रतिपक्ष माओवादीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्ने निर्णय गरेको छ। अख्तियारले भिजिट भिसा प्रकरणमा अध्यागमनका कर्मचारीमाथि अनुसन्धान सुरु गरेकाले त्यसको नैतिक जिम्मेवारी गृहमन्त्री लेखकले लिनुपर्ने माओवादीको भनाइ छ। 

000

राष्ट्रिय मानव अधिकार आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीको उत्तेजनापूर्ण अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आयोगले जिम्मेवार व्यक्तिले आफ्नो अभिव्यक्ति दिँदा संयमित हुन, अरु व्यक्ति, समूह वा पार्टीलक्षित नकारात्मक टीका टिप्पणी नगर्न, सुरक्षा निकायले राजधानीलगायतका क्षेत्रको शान्तिसुरक्षालाई मजबूत बनाउन तथा आफ्ना विरोध र प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आग्रह गरेको हो।

000

तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न भएका प्रतिवादीहरूको बयान सुरु भएको छ। तर,  हाजिरी जमानीमा रहेका राप्रपाका दुई नेताहरू भने सम्पर्कविहीन छन्। उक्त मुद्दामा सोमबारदेखि काठमाडौं जिल्ला अदालतमा प्रतिवादीहरूको बयान सुरु भएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री एवं सांसद धवलशमशेर जबरा भने सम्पर्कमा नरहेको बताए।

000

चालु आर्थिक वर्ष गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी हुने अनुमान राष्ट्रिय तथ्यांक कार्यालयले गरेको छ। कार्यालयले सोमबार सार्वजनिक गरेको प्रादेशिक राष्ट्रिय लेखा अनुमानअनुसार गण्डकी प्रदेशको आर्थिक वृद्धिदर ५.५१ प्रतिशत हुने प्रक्षेपण गरिएको हो। यस वर्ष सबैभन्दा कम आर्थिक वृद्धिदर सुदूरपश्चिम प्रदेशको ३.३२ प्रतिशत हुने अनुमान गरिएको छ। 

000

 भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको सत्तारूढ गठबन्धनले संसद् र प्रादेशिक निर्वाचनमा ठूलो मतान्तरले विजय हासिल गरेको छ । आइतबार सम्पन्न सांसद र गभर्नरको निर्वाचनलाई केही विपक्षी समूहले बहिष्कारको आह्वान गरेका थिए । किनकि ती समूहले २०२४ जुलाईमा भएको राष्ट्रपति निर्वाचनको नतिजालाई नक्कली भन्दै अस्वीकार गर्दै आइरहेका छन् ।

कान्तिपुर

Link copied successfully