प्रधानमन्त्रीको उत्तेजनापूर्ण अभिव्यक्तिप्रति मानव अधिकार आयोगको ध्यानाकर्षण

जेष्ठ १२, २०८२

कान्तिपुर संवाददाता

Human Rights Commission draws attention to PM's provocative statement

काठमाडौँ — राष्ट्रिय मानव अधिकार आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीको उत्तेजनापूर्ण अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आयोगले जिम्मेवार व्यक्तिले आफ्नो अभिव्यक्ति दिँदा संयमित हुन, अरु व्यक्ति, समूह वा पार्टीलक्षित नकारात्मक टीका टिप्पणी नगर्न, सुरक्षा निकायले राजधानीलगायतका क्षेत्रको शान्तिसुरक्षालाई मजबूत बनाउन तथा आफ्ना विरोध र प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आग्रह गरेको छ।

आयोगका प्रवक्ता टीकाराम पोखरेलले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले एक कार्यक्रममा 'जेठ १५ गते एघार बजेदेखि दुई बजेसम्म काठमाडौं नेकपा एमालेको नियन्त्रणमा हुनुपर्छ भन्ने लगायतका अभिव्यक्ति दिँदै त्यसका लागि एमाले कार्यकर्तालाई तयार रहन दिए‌को निर्देशनपूर्ण अभिव्यक्तिपति ध्यानाकर्षण भएको जनाएका छन्।

'देशको शान्ति सुरक्षा र अमनचयन कायम गर्ने जिम्मेवारी सरकारका सुरक्षा निकायको हुँदाहुँदै लोकतान्त्रिक मुलुकमा कुनै पनि पार्टी विशेषबाट कुनै पनि क्षेत्र कब्जामा लिनु भनेको विधिको शासन विपरित हुनुका साथै, निषेधलाई प्रश्रय दिनु हो भन्ने आयोगको बुझाई छ,' विज्ञप्तिमा भनिएको छ, 'शान्तिपूर्ण तवरबाट विचार र अभिव्यक्ति राख्न नेपालको संविधान र कानूनले निषेध गरेको छैन। यस परिस्थितिमा अरुको विचार, अभिव्यक्ति र प्रदर्शनप्रति लक्षित गरी सम्माननीय प्रधानमन्त्रीबाट आएको उक्त अभिव्यक्ति चिन्ताजनक छ।'

आयोगले जुनसुकै व्यक्ति, समूह र पार्टीलाई आफ्नो विचार र अभिव्यक्तिको स्वतन्त्रता भए पनि अरुप्रति सक्षित गरी मुठभेड निम्तिन सक्ने गरी उत्तेजनापूर्ण अभिव्यक्ति आउनु मानव अधिकारका मूल्यमान्यताको समेत विपरीत भएको जनाएको छ।

कान्तिपुर संवाददाता

Link copied successfully