तीनकुने घटनासम्बन्धी मुद्दामा प्रतिवादीहरूको बयान सुरु, मिश्र र जबरा सम्पर्कविहीन

जेष्ठ १२, २०८२

विवेक पोख्रेल

The statement of the defendants in the case related to the Three Kune incident begins, Mishra and Jabra are out of touch

काठमाडौँ — तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न भएका प्रतिवादीहरूको बयान सुरु भएको छ। तर,  हाजिरी जमानीमा रहेका राप्रपाका दुई नेताहरू भने सम्पर्कविहीन छन्। 

उक्त मुद्दामा सोमबारदेखि काठमाडौं जिल्ला अदालतमा प्रतिवादीहरूको बयान सुरु भएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री एवं सांसद धवलशमशेर जबरा भने सम्पर्कमा नरहेको बताए।

उनीहरूमाथि अदालतमा राज्यविरुद्ध, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत गरेर चार–चार कसुरमा अभियोग छ। ‘आपराधिक उपद्रव र संगठित अपराधमा अनुसन्धानमा रहेका ३४ र राज्यविरुद्धको कसुरमा रहेका ३ जना हाजिर जमानीमा छुटेका थिए,’ बोहराले भने,‘त्यस मध्ये मिश्र र जबरा अहिले सम्पर्कमा छैनन् ।’

मुलुकी अपराध संहिता, २०७४ परिच्छेद ३ अन्तर्गत सार्वजनिक अधिकारीको अख्तियारीको अवज्ञा सम्बन्धी कसूरले यो कार्यलाई कानुन विपरीत भएको भन्दै सजाएको व्यवस्था गरेको छ  । 

मुद्दा लैजाँदा प्रहरीले हाजिरी जमानीमा राखेका अभियुक्तहरूलाई पनि उपस्थित गराउने गर्छ । गत वैशाख ७ गते सांसद धवल शम्शेर राणा स्वास्थ्य उपचारको लागि हाजिरी जमानीमा छुटेका थिए। उनकी श्रीमतीले जिम्मा लिएकी थिइन्। राणा भारतको मुम्बईमा उपचार गराएर वैशाख १४ गते स्वदेश फर्किसकेका थिए।

मिश्रले बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतबाट हाजिरी जमानीमा बस्ने अनुमति पाएका थिए । जेठ २ गते सर्वोच्चका न्यायाधीशहरू कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको इजलासले मिश्रलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको थियो।

जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले उनीहरू बयान प्रस्तुत गर्न उपस्थित नभएमा कानुन अनुसार पक्राउ गरिने जानकारी दिए। ‘उपस्थित भएकाहरूको बयान सुरु भएको छ,’श्रेष्ठले भने,‘ यो हप्तासम्म सबैको बयान सकिन्छ होला । यदि उनीहरू बयानको समयमा नआएमा प्रक्राउ गरेर अदालत उपस्थित गराउन सकिने छ।’

सरकारी वकिलको कार्यालयले प्रसाईंसहित ५० र ११ जनाको छुट्टाछुट्टै अभियोगपत्र बनाएर मुलुकी फौजदारी कार्यविधि सहिता, २०७४ को दफा ३२ बमोजिम मुद्दा दायर गरेको छ । ११ जनालाई आपराधिक उपद्रवअन्तर्गत र अन्यलाई व्यक्ति विशेष मुद्दा दर्ता गरिएको कार्यालयले जनाएको छ ।

हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोप लागेका चार बालकविरुद्ध भने बाल अदालतमा मुद्दा दायर गर्ने तयारी छ । एक बालकलाई राज्यविरुद्ध र अन्य ३ जनाविरुद्ध आपराधिक उपद्रवमा मुद्दा दर्ता गर्ने सरकारी वकिल कार्यलयकाे तयारी छ । १ सय ८ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने राय प्रहरीले दिए पनि जिल्ला सरकारी वकिलको कार्यालयले चार बालकसहित ६५ जनाविरुद्व मात्र अभियोगपत्र दायर गरेको हो।

सरकारी वकिलको कार्यालयले राजावादी प्रदर्शनका ‘कमान्डर’ दुर्गाप्रसाद प्रसाईंलाई पाँच कसुरमा सजाय मागदाबी गरेको छ । जिल्ला प्रहरी परिसरले करिब दुई महिना लगाएर तीनकुने घटनाको अनुसन्धान गरेको थियो । त्यस क्रममा ९० जनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । प्रहरीले मुद्दा चलाउन राय दिएका मध्ये १८ जना अहिले पनि प्रहरीको फरार सूचीमा छन् ।

राजावादीले १५ चैतमा गरेको प्रदर्शन हिंसात्मक बन्दा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक र कीर्तिपुर–४ का सविन महर्जनको मृत्यु भएको थियो । प्रहरीको गोली लागेर २० जना घाइते भएका थिए । गोली लागेर घाइते भएका ३ जना अझै पनि उपचारका क्रममा छन् ।

तिघ्रामा गोली लागेकी उदयपुरकी रेविका खत्रीको महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ। सिभिल अस्पतालको सघन उपचार कक्षमा लामो समय राखेर रेविकालाई प्लास्टिक सर्जरी गर्न महाराजगन्ज लगिएको हो । गोली लागेको ठाउाबाट अत्यधिक रगत बगेकाले सीटीभीएस आईसीयूमा उपचार हुँदै छ ।

पेटमा गोली लागेका भोजपुरका डिल्लीप्रसाद लुइाटेलको ट्रमा सेन्टरमा उपचार चलिरहेको छ। पाखुरामा गोली लागेका काभ्रेका रामहरि (रिदम) श्रेष्ठ बीएन्डबी अस्पतालमा नियमित फलोअपमा छन्। घाइते भएपछि पाखुरामा स्टिल राखिएका उनको पाखुराको नसाको अपरेसन बाँकी छ। 

तीनकुनेको प्रदर्शनमा १५ निजी घर, ३७ निजी संस्था (दुई सञ्चार गृह, एउटा सुपर मार्केट, दुई अस्पताल, चार बैंक, दुई सहकारी, २० व्यवसाय, एक विद्यालय, दुई पार्टी कार्यालय र तीन कार्यालय), एक उद्योग, दुई प्रहरी कार्यालय र ट्राफिक आइल्यान्डमा क्षति पुगेको प्रहरीको तथ्यांक छ। आगजनी र तोडफोडबाट ६९ सवारीसाधनमा क्षति पुगेको थियो।

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully