विपक्षी दलबीच मोर्चाबन्दी गर्ने, गृहमन्त्रीले राजीनामा नदिए संसद् अवरुद्ध गर्ने
काठमाडौँ — प्रमुख प्रतिपक्ष माओवादीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्ने निर्णय गरेको छ। अख्तियारले भिजिट भिसा प्रकरणमा अध्यागमनका कर्मचारीमाथि अनुसन्धान सुरु गरेकाले त्यसको नैतिक जिम्मेवारी गृहमन्त्री लेखकले लिनुपर्ने माओवादीको भनाइ छ।
माओवादीको सोमबार बसेको पदाधिकारी बैठकले भिजिट भिसाको सेटिङले मुलुकको साखमा आँच आएको भन्दै नैतिकताका आधारमा गृहमन्त्री लेखकले राजीनामा दिन संसद्मा दबाब दिने निर्णय गरेको छ ।
प्रमुख प्रतिपक्ष दलको हैसियतले भिजिट भिसा प्रकरणमा विपक्षी दलसँग छलफल गरी मंगलबार बस्ने संसद्को बैठकमा प्रस्तुत हुने निर्णय गरेको छ ।
‘सबै विपक्षीसँग सल्लाह गरेर राजीनामा माग गर्ने निर्णय भएको छ । यस्ता घटनाहरू नजरअन्दाज गर्दै राष्ट्रको साख गिर्ने भएको हुनाले गृहमन्त्रीको राजीनामा माग गर्ने निर्णय भएको छ,’ माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले भने, ‘भिजिट भिसा प्रकरण मानव तस्करीसँग जोडिएको छ । यसलाई हाम्रो पार्टीले गम्भीरतापूर्वक लिएको छ ।’
विपक्षीले पहिलो चरणमा संसद्बाट गृहमन्त्रीको राजीनामा माग गर्ने, राजीनामा नदिए संसद् अवरुद्ध गर्नेसम्मका कार्यक्रम गर्ने तयारी गरेको छ । ‘पहिलो चरणमा राजीनामा माग गर्ने, भएन भने के के गर्नुपर्छ कार्यक्रम बनाइनेछ,’ सापकोटाले भने ।
सचिवालय बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले गृहमन्त्री लेखकले राजीनामा दिएपछि यसमा मुछिएका कर्मचारीको निष्पक्ष छानबिन हुनसक्ने बताएका थिए । ‘गृहमन्त्री रहिरहने, कर्मचारीको निष्पक्ष छानबिन हुन सक्दैन’ दाहालको भनाइ थियो ।
माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले संसद्मा प्रस्तुत हुने विषय तय हुन बाँकी रहेको बताए । आगामी आर्थिक वर्षका बजेट ल्याउने दिन जेठ १५ अघि विपक्षले भिजिट भिसा प्रकरणमा सरकारमाथि दबाब सिर्जना गर्ने तयारी गरेका छन् । माओवादीको पहलमा विपक्षीको बैठक गर्ने तयारी छ ।
भिसा प्रकरणमा विमानस्थल अध्यागमन प्रमुख तीर्थराज भट्टराईमाथि अख्तियारले अनुसन्धान सुरु गरकोेछ । मानव तस्करको सेटिङमा भिजिट भिसामा असुली धन्दा चलाएको प्रकरणमा विमानस्थल अध्यागमन प्रमुख भट्टराईसहित गिरोहमा काम गर्ने तीन जनालाई अख्तियारले बुधबार पक्राउ गरेको थियो ।
चारै जनाबाट अख्तियारले मोबाइल, ल्यापटप तथा अन्य कागजात पनि नियन्त्रणमा लिएर छ । आरोपितलाई भने तारेखमा छाडेको छ ।
