आज देश-दुनियाँमा के-के भयो ?

जेष्ठ ११, २०८२

कान्तिपुर संवाददाता

What happened in the country today?

काठमाडौँ — यस वर्षको विपद्‍मा २० लाख नागरिक प्रभावित हुने अनुमान, गणतन्त्रविरुद्ध हुने गतिविधि सहृय नहुने एमालेको चेतावनी, युवा संघ महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरुदेखि लालू यादवले जेठा छोरा तेजप्रतापलाई पार्टी र परिवारबाटै निकालिदिएसम्मका खबर आज चर्चामा रहे । 

000

यस वर्षको मनसुनबाट मुलुकमा ४ लाख ५० हजार घरका २० लाख नागरिक प्रभावित हुने अनुमान गरिएको छ । मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबै विषयवस्तुको विश्लेषण गरी तयार पारेको प्रस्तावित मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ मा उक्त अनुमान गरिएको हो । 

000

एमालेले गणतन्त्रविरुद्ध हुने कुनै पनि गतिविधि सहृय नहुने बताएको छ । एमाले केन्द्रीय सचिवालयको आइतबार बसेको बैठकले जेठ १५ मा गणतन्त्र दिवस भव्य रुपमा मनाउन पार्टी संगठनलाई निर्देशन दिने निर्णय पनि गरेको छ । राजावादीहरुले जेठ १५ मा प्रदर्शन गर्न लागेको सन्दर्भमा एमालेले त्यस्ता गतिविधि ‘गणतन्त्रको विपक्षमा हुने कुनै पनि अवाञ्छित गतिविधिु सहृय नहुने र त्यसको प्रतिवाद गर्न एमालेले निर्णय गरेको छ ।

000

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया, इजरायल, जापान, कोरियालगायत मुलुकमा नेपाली कामदार पठाउने निश्चित म्यानपावर व्यवसायीलाई फाइदा पुग्नेगरी कुनै निर्णय नभएको जनाएको छ । मन्त्रालयले अनावश्यक अफवाह फैलाउने सञ्चारमाध्यमको अनुगमन गरी कारबाही गर्न प्रेस काउन्सिलको ध्यानाकर्षण गराएको पनि जनाएको छ ।

000

राष्ट्रिय युवा संघ नेपालको जारी महाधिवेशनमा निर्वाचन कमिटीले निर्वाचन तालिका प्रकाशन गरेको छ । सहमतिमा नयाँ अध्यक्ष चयनका लागि लगातार २ दिनदेखि जारी प्रयास असफल भएसँगै निर्वाचन प्रक्रिया सुरु भएको हो । निर्वाचन कमिटीले सार्वजनिक गरेको तालिकाअनुसार उम्मेदवारी दर्तादेखि अन्तिम नामावली प्रकाशनको तालिका छ । 

000

बिहारका पूर्वमुख्यमन्त्री एवं राष्ट्रिय जनता दलका नेता लालूप्रसाद यादवले जेठा छोरा तेजप्रताप यादवलाई पार्टीबाट ६ वर्षका लागि निष्कासित गरेका छन् । लालू यादवले सामाजिक सञ्जाल एक्समार्फत यसबारे जानकारी दिएका हुन् । उनले अबदेखि पार्टी र परिवारमा तेजप्रताप कुनै भूमिकामा नरहने बताएका छन् । ज्येष्ठ पुत्रको गतिविधि, लोक आचरण र गैरजिम्मेवारपूर्ण व्यवहार पारिवारिक मूल्य र संस्कारअनुसार नभएको भन्दै उनले यसतो निणंय लिएका हुन् । 

कान्तिपुर

Link copied successfully