लालू यादवले जेठा छोरा तेजप्रतापलाई पार्टी र परिवारबाटै निकालिदिए

एक जना महिलासँग १२ वर्षदेखि सम्बन्धमा रहेको फेसबुक पोस्टपछि बिहारका पूर्वमन्त्रीसमेत रहेका तेजप्रतापलाई पार्टीबाट निष्कासित गरिएको हो ।

जेष्ठ ११, २०८२

कान्तिपुर संवाददाता

Lalu Yadav expelled his eldest son Tej Pratap from the party and the family

काठमाडौँ — बिहारका पूर्वमुख्यमन्त्री एवं राष्ट्रिय जनता दल(राजद) नेता लालूप्रसाद यादवले जेठा छोरा तेजप्रताप यादवलाई पार्टीबाट ६ वर्षका लागि निष्कासित गरेका छन् । लालू यादवले सामाजिक सञ्जाल एक्समार्फत यसबारे जानकारी दिएका हुन् । 

उनले अबदेखि पार्टी र परिवारमा तेजप्रताप कुनै भूमिकामा नरहने बताएका छन् । 'निजी जीवनमा नैतिक मूल्यलाई अवहेला गर्दा सामाजिक न्यायका लागि हाम्रो सामूहिक संघर्षलाई कमजोर तुल्याउँछ । ज्येष्ठ पुत्रको गतिविधि, लोक आचरण र गैरजिम्मेवारपूर्ण व्यवहार हाम्रो पारिवारिक मूल्य र संस्कारअनुसार छैन ,' लालूले भनेका छन् । पार्टीबाट मात्र नभई परिवारबाटै अलग गरेको उल्लेख गर्दै उनले अगाडि लेखेका छन्, 'उपरोक्त परिस्थितिका कारण उसलाई पार्टी र परिवारबाट अलग गर्छु । अबदेखि पार्टी र परिवारमा उसको कुनै भूमिका रहने छैन । उसलाई पार्टीबाट ६ वर्षका लागि निष्कासित गरिन्छ ।' 

Lalu Yadav expelled his eldest son Tej Pratap from the party and the family

निजी जीवनमा के सही र के बेठिक हो भन्ने कुरा ठम्याउन तेजप्रताप स्वयं सक्षम रहेको पनि लालूको भनाइ छ । यसअघि सामाजिक सञ्जालमा तेजप्रतापको पोस्टलाई लिएर विपक्षी दलहरूले राजदमाथि चर्को आलोचना गरेका थिए ।

तेजप्रतापले भने आफ्नो फेसबुक एकाउन्ट ह्याक भएको दाबी गर्दै आएका छन् । उनको फेसबुक टाइमलाइनमा अनुष्का यादव नाम गरेकी महिलासँग लामो समयदेखि सम्बन्धमा रहेको दाबीसहित पोस्ट गरिएको गियो । अहिले भने उक्त पोस्ट डिलिट भइसकेको छ । बिहारका पूर्वमन्त्रीसमेत रहेका ३७ वर्षीय तेजप्रतापले सन् २०१८ मा बिहारका पूर्वमुख्यमन्त्री दरोगा रायकी नातिनी ऐश्वर्या रायसँग विवाह गरेका थिए । तर श्रीमान् र घरपरिवारबाट राम्रो व्यवहार नभएको भन्दै ऐश्वर्याले घर छाडेकी थिइन् । 

लालूका अर्का छोरा तेजस्वी भने राजदका अध्यक्ष हुन् । उनी बिहारका पूर्वउपमुख्यमन्त्री र अहिले बिहार विधानसभामा नेता प्रतिपक्ष हुन् । 

कान्तिपुर संवाददाता

Link copied successfully