कास्की — राष्ट्रिय युवा संघ नेपालको जारी महाधिवेशनमा निर्वाचन कमिटीले निर्वाचन तालिका प्रकाशन गरेको छ ।
सहमतिमा नयाँ अध्यक्ष चयनका लागि लगातार २ दिनदेखि जारी प्रयास असफल भएसँगै निर्वाचन प्रक्रिया सुरु भएको हो । निर्वाचन कमिटीले सार्वजनिक गरेको तालिकाअनुसार आइतबार अपराह्न साढे ४ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारी दर्ताको समय दिइएको छ । आजै राति ८ बजे अन्तिम नामावली प्रकाशन हुनेछ ।
प्रमुख निर्वाचन अधिकृत मदनप्रसाद तिवारीले निर्वाचन कार्यतालिकामा फेरबदल हुने भएमा अर्को सूचना जारी गरिने जनाए । सोमबार बिहान ८ देखि दिउँसो ४ बजेसम्म मतदानको समय तय गरिएको छ । मतदानका लागि ४५ वटा विद्युतीय भोटिङ मेसिन पोखरा ल्याइएको छ ।
भावी अध्यक्षमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान अध्यक्ष क्षितिज थेबेलाई नै दोहोर्याउन चाहेका छन् । तर, महासचिव सुमन पुरीले लोकतान्त्रिक प्रक्रियाको अभ्यास हुनुपर्ने र कुनै हालतमा पछाडि नहट्ने बताएपछि निर्वाचन हुन लागेको हो ।
निर्वाचनको माहोल बनाउन दुवै दाबेदारका समर्थक प्रतिनिधिसँग मत माग्न महाधिवेशन स्थल पोखरा सभागृहमा खटिएका छन् ।
