'अफवाह फैलाउने सञ्चारमाध्यमलाई प्रेस काउन्सिलले कारबाही गर्नुपर्छ'
काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया, इजरायल, जापान, कोरियालगायत मुलुकमा नेपाली कामदार पठाउने निश्चित म्यानपावर व्यवसायीलाई फाइदा पुग्नेगरी कुनै निर्णय नभएको जनाएको छ । मन्त्रालयले अनावश्यक अफवाह फैलाउने सञ्चारमाध्यमको अनुगमन गरी कारबाही गर्न प्रेस काउन्सिलको ध्यानाकर्षण गराएको पनि जनाएको छ ।
मलेसिया, इजरायल, जापान, कोरियालगायत मुलुकमा नेपाली कामदार पठाउने निश्चित म्यानपावर व्यवसायीहरुलाई फाइदा पुग्नेगरी सिन्डिकेट गर्न लागिएको भनी विभिन्न सञ्चारमाध्यमबाट अफवाह फैलाइएकोप्रति श्रम मन्त्रालयको गम्भीर ध्यानाकर्षण जनाएको हो । श्रम मन्त्रालयले ‘भ्रमपूर्ण एवम् आधारहीन विषयको पछाडि नलाग्नुहुन सम्बद्ध सबै पक्ष सरोकार पक्षलाई अनुरोध’ गरेको छ ।
‘कुनै निश्चित व्यवसायीलाई लाभ हुने गरी कुनै पनि निर्णय नभएको र भविष्यमा समेत यस प्रकारको निर्णय नहुने व्यहोरा सम्बन्धित सबैमा अनुरोध छ,’ आइतबार मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘यस्ता अफवाह र भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने व्यक्ति/ समूहको पहिचान भएमा यस मन्त्रालयलाई तुरुन्तै आधिकारिक माध्यमबाट जानकारी गराइदिनुहुन हार्दिक अनुरोध छ ।’
मन्त्रालयले अनावश्यक अफवाह सूचना सम्प्रेषण गर्ने व्यक्ति, समूहमाथि कारबाही गर्न गृह मन्त्रालयमार्फत नेपाल प्रहरी र भ्रामक सूचना एवं समाचार प्रसारण गर्ने गराउने सञ्चारमाध्यमलाई प्रचलित कानुनबमोजिम अनुसन्धान र कारबाहीका लागि प्रेस काउन्सिललाई लेखि पठाइएको जनाएको छ ।
