काठमाडौँ — नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा विश्व पौडेल नियुक्त, प्रधानमन्त्रीलाई देश छोडेर भाग्न मौका दिने राप्रपा अध्यक्षको भनाइ, महानगर प्रहरी प्रमुख पाण्डेलाई प्रमुख प्रशासकीय अधिकृतले सोधे स्पष्टीकरणदेखि गाजामा १४ हजार शिशुको मृत्यु हुन सक्ने चेतावनीसम्मका खबर आज चर्चामा रहे ।
०००
सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा विश्व पौडेललाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । सरकारको यो निर्णयसँगै पौडेल १८औं गभर्नर बनेका छन् ।
०००
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई देश छोडेर भाग्न हेलिकोप्टरको सुविधा प्रयोग गर्न छुट दिने अभिव्यक्ति दिएका छन् । ज्ञानेन्द्र शाहलाई राजा बनाउने भनेर राजावादी र राप्रपालगायतले जेठ १५ मा गर्ने आन्दोलन समितिले तयारीस्वरुप मंगलबार गरेको कार्यक्रममा सांसदसमेत रहेका लिङ्देनले प्रधानमन्त्री ओलीलाई देशबाट भाग्न मौका दिने बताएका हुन्।
०००
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले महानगर प्रहरी बलका वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधेका छन् । कार्यालयमा हाजिर गर्न आउँदा अवरोध गरेको विषयमा स्पष्टीकरण सोधिएको गुरागाईंले बताए ।
०००
संयुक्त राष्ट्रसंघले पछिल्लो समय गाजाको स्थित भयाबह बन्दै गएको र आगामी ४८ घण्टामा १४ हजार शिशुले ज्यान गुमाउन सक्ने चेतावनी दिएको छ । राष्ट्रसंघका मानवीय प्रमुख टम फ्लेचरले बीबीसीसँगको कुराकानीमा गाजामा इजरायलले राहत सामाग्री रोकेको र स्थिति निरासाजनक भएको बताएका हुन् ।
०००
आईसीसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–थ्रीको अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित भएको छ । थाइल्यान्डको टेर्डथाइ क्रिकेट मैदानमा आज भएको खेलमा थाइल्यान्डले नेपाललाई जितका लागि १५९ रनको लक्ष्य दिएको थियो। जवाफमा नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८० रन मात्र बनाउन सक्यो।
