काठमाडौँ — राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई देश छोडेर भाग्न हेलिकोप्टरको सुविधा प्रयोग गर्न छुट दिने भनी दिएको अभिव्यक्तिलाई लिएर एमालेका सांसद सूर्य थापाले आपत्ति जनाएका छन् ।
ज्ञानेन्द्र शाहलाई राजा बनाउने भनेर राजावादी र राप्रपालगायतले जेठ १५ मा गर्ने आन्दोलन समितिले तयारीस्वरुप मंगलबार गरेको कार्यक्रममा सांसदसमेत रहेका लिङ्देनले प्रधानमन्त्री ओलीलाई देशबाट भाग्न मौका दिने बताएका थिए ।
'प्रधानमन्त्रीले भन्नुभयो अब उमेरको हिसाबले पनि भाग्न सकिँदैन, भाग त भन्नुभएन नि हो भन्नुभयो । भाग्न सकिन्न भने पनि सम्झौता नगर्ने हो भने उहाँहरूलाई हेलिकोप्टरबाट जाने मौका दिनुपर्छ हामीले,' लिङ्देनले भने । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठकमा लिङ्देनलाई लक्षित गरेर आफू नभाग्ने बरु युवा रहेकाहरू भाग्नुपर्ने बताएका थिए ।
लिङ्देनले देश छोडेर भाग्न प्रधानमन्त्रीलाई हेलिकोप्टर प्रयोगको सुविधा दिने भनी अभिव्यक्ति दिएकोबारे एमालेका सांसद थापाले आपत्ति जनाएका छन् ।
'धेरै ठूलो कुरा गर्नु भएछ, जानकारी भयो । बहालवाला प्रधानमन्त्रीलाई भाग्नका लागि हेलिकोप्टरको समेत व्यवस्थाको कुरा गर्नुभएछ, थाहा भयो । अहिलेका प्रधानमन्त्री वा मन्त्रीहरू आन्दोलनबाटै आएकाहरू हुन्, जसले आन्दोलनमा लागे बापत आफूलाई दशकौं बिना कसुर, बिना मुद्दा कालकोठरीमा राख्यो, अङ्भङ्ग गरायो, तिनै पात्रलाई समेत उनीहरूले आन्दोलन सफल भएपछि– ‘फर्गिभ नट फर्गेट’ अर्थात्, ‘नबिर्स तर क्षमा गर’को नीति अनुरुप ‘भागे भाग नत्र मार्छु’ भनेनन्,' थापाले लिङ्देनलाई सोधेका छन्, 'तपाईंको हेलिकोप्टरवाला प्रस्तावलाई हामी पूर्व आन्दोलनकारीहरूले कसरी बुझौं ? प्रतिस्पर्धा–सहअस्तित्व – सहकार्यको रुपमा कि, ‘कि तँ छैनस्–कि म छैन’को निषेधकारी दृष्टिकोणमा ?'
थापाले लिङ्देनलाई विचार गरेर उक्त प्रस्तावबारे पुनः सोच्न आग्रह गरेका छन् । 'एक पटक ठण्डा दिमागले सोच्नुहोस्, जनसुकै शर्त मञ्जुर छ । जनताले पराजित गरेकाहरू संविधानको धारा २७० जपिरहनु भएको छ, तपाईंको त उम्रिदै होइन, नउम्रिदै तीन पात देखिँदै छ ।'
