गाजामा आगामी ४८ घण्टामा १४ हजार शिशुको मृत्यु हुन सक्ने चेतावनी 

जेष्ठ ६, २०८२

एजेन्सी

Warning: 14,000 babies could die in Gaza in the next 48 hours

न्युयोर्क — संयुक्त राष्ट्रसंघले पछिल्लो समय गाजाको स्थित भयाबह बन्दै गएको र आगामी ४८ घण्टामा १४ हजार शिशुले ज्यान गुमाउन सक्ने चेतावनी दिएको छ । 

राष्ट्रसंघका मानवीय प्रमुख टम फ्लेचरले बीबीसीसँगको कुराकानीमा गाजामा इजरायलले राहत सामाग्री रोकेको र स्थिति निरासाजनक भएको बताएका हुन् । ‘सहायता समयमै पुगेन भने ४८ घण्टामा १४ हजार शिशुहरूको मृत्यु हुन सक्छ,’ फ्लेचरले भने, ‘म आगामी ४८ घण्टामा यी १४ हजार शिशुमध्ये सकेसम्म धेरै बचाउन चाहन्छु ।’ 

राष्ट्रसंघले गाजा क्षेत्रमा खटिएका प्रतिनिधि, सहायता संस्थाका प्रतिनिधि तथा स्वयंमसेवकले संकलन गरेको तथ्यांकका आधारमा नयाँ निस्कर्षमा पुगेको उनको भनाइ छ । ‘हामीसँग जमिनमा बलियो टोलीहरू छन् । तीमध्ये केही अवश्य पनि मारिएका छन् । तर हामीसँग अझै पनि धेरै मानिसहरू युद्धग्रस्त क्षेत्र, चिकित्सा केन्द्र तथा विद्यालयमा छन् । उनीहरूले आवश्यकताको मूल्यांकन गर्ने प्रयास गरिरहेका छन्,’ उनले भने ।

गाजामा खाद्यान्न अभावको अवस्था उत्पन्न भएपछि अन्तर्राष्ट्रिय समुदायले गरेको दबाबपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा भोकमरीको संकट रोक्न तयार रहेको बताएका थिए । गाजामा ११ सातादेखि इजरायलले नाकाबन्दी लगाउँदै आएको छ । 

फ्लेचरले सहायता सामग्री बोकेका ५ ट्रक सोमबार गाजा पुगेको बताए । तर यसलाई उनले ‘समुद्रमा थोपा’ र जनसंख्याको आवश्यकताका लागि पूर्ण रूपमा अपर्याप्त भएको बताएका छन् । ‘बालबालिकाको खाना र पोषण भएका सहायता लरीहरू प्राविधिक रूपमा गाजामा छन् तर सीमाको अर्को छेउमा रहेकाले सर्वसाधारणसम्म पुगेका छैनन्,’ उनले भने । 

एजेन्सी

Link copied successfully