काठमाडौँ — तीन तहकै सरकारमा भए पनि कांग्रेसभित्र उकुसमुकुस अवस्था रहेको महामन्त्री गगन थापाको भनाइदेखि नेपाल महिला टी–२० विश्वकपको ग्लोबल क्वालिफायरमा पुगेकोसम्म खबर सोमबार इकान्तिपुरमा प्रकाशित भएका छन् ।
सत्तारुढ कांग्रेस महामन्त्री गगन थापाले पार्टीभित्र नेता र कार्यकर्तामा उकुसमुकुस र छटपटाहट रहेको बताएका छन् । उनले त्यसलाई पार्टीका लागि अवसरका रूपमा कसरी उपयोग गर्ने भन्नेबारे सोच्नुपर्ने बताए । काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा महामन्त्री थापाले पार्टीभित्रको असन्तुष्टिबारे धारणा राखेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेद्वारा दायर गरिएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा आज ‘हेर्न नमिल्ने’ मा परेको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेको संयुक्त इजलासमा पेसी तोकिएको भए पनि हेर्न नमिल्ने भएपछि सुनुवाइ हुन नसकेको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिएका छन्।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव कायम रहेकाले तीन दिन अझै वर्षाको सम्भावना रहेको जनाएको छ। अहिले पनि देशका अधिकांश स्थानमा हल्कादेखि भारी वर्षा हुनुका साथै हुरी र चट्याङ परिरहेको उल्लेख गर्दै महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायली सेनाले गाजापट्टीको सबै भूभाग नियन्त्रणमा लिने चेतावनी दिएका छन् । टेलिग्राममा सार्वजनिक भिडियो सन्देशमा नेतान्याहुले इजरायली रक्षा बल (आईडीएफ)ले लडाइँमा प्रगति गरिरहेको बताएका छन् ।
नेपाल आईसीसी टी–२० महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट भएको छ । थाइल्याण्डको बैंककमा जारी एसिया क्षेत्र छनोट अन्तर्गत सुपर थ्रीमा संयुक्त अरब इमिरेट्स (यूएई)लाई हराउँदै नेपाल एक खेल अगावै ग्लोबल क्वालिफायरमा छनोट भएको हो ।
