पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, तीन दिन अझै वर्षाको सम्भावना

जेष्ठ ५, २०८२

कान्तिपुर संवाददाता

Westerly and local winds remain in effect, rain likely for three more days

काठमाडौँ — जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव कायम रहेकाले तीन दिन अझै वर्षाको सम्भावना रहेको जनाएको छ।

अहिले पनि देशका अधिकांश स्थानमा हल्कादेखि भारी वर्षा हुनुका साथै हुरी र चट्याङ परिरहेको उल्लेख गर्दै महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ।

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले आज देशभर आंशिकदेखि सामान्य बदली रहेको र सबै प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको जानकारी दिए ।

'हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव, साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव छ,' उनले भने, 'जसका कारण जुनसुकै समयमा पनि वर्षा भइरहेको छ।'

उनका अनुसार अहिले प्रि–मनसुनको समयमा विशेषतः साँझको समयमा चट्याङसहितको वर्षा हुने गर्छ। आज राति पनि देशका विभिन्न भागमा वर्षा हुनुका साथै आगामी तीन दिनसम्म वर्षाको सम्भावना रहेको उनको भनाइ छ।

देशका केही स्थानमा मेघ गर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकाले त्यसको असरबाट बच्न आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

कान्तिपुर

Link copied successfully