'हामी सबैतिर सरकारमा छौँ । हामी नभएको ठाउँ नै छैन । पालिकामा, वडामा, संघमा सरकार, प्रदेशमा सरकार । अहिले हामीले बनाएका प्रधानमन्त्री र अब हुनेवाला प्रधानमन्त्री पनि हाम्रो । अब सबै हाम्रो । अब गभर्नर हाम्रो, ऊ हाम्रो, जताततै हाम्रो । खुशी हुनुपर्ने नि त कांग्रेस त ! सबै हाम्रो भएको बेलामा किन खुशी नभएको त ?'
काठमाडौँ — सत्तारुढ कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र नेता र कार्यकर्तामा उकुसमुकुस र छटपटाहट रहेको बताएका छन् । उनले त्यसलाई पार्टीका लागि अवसरका रूपमा कसरी उपयोग गर्ने भन्नेबारे सोच्नुपर्ने बताए ।
काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा महामन्त्री थापाले पार्टीभित्रको असन्तुष्टिबारे धारणा राखेका हुन् । संघ, प्रदेश र स्थानीय तहको सरकारमा रहेको बेला पनि पार्टीभित्र असन्तुष्टि रहेको उनको भनाइ थियो ।
‘अब हाम्रो जेनेरेसनको साथीहरूले एउटा संकल्प गर्ने बेला आएको छ । नेपाली कांग्रेस पार्टीभित्र अहिले एउटा खालको उकुसमुकुस छ । उकुसमुकुस छ, गुनासो छ, असन्तुष्टि छ, एउटा छटपटाहट देखिन्छ,' उनले भने, 'तर, म एउटा अवसर पनि छ भनिरहेको छु । नेपाली कांग्रेस पार्टीका सन्दर्भमा हामीले लामो समयदेखि टेक्निकल र ब्युरोक्रेटिक कुरा गर्यौँ । चुनावको कुरा, चुनाव जित्नुपर्छ भन्यौँ । को उम्मेदवार बन्ने कुरा गर्यौँ । हामीले अहिले चुनाव जितेका छौँ, नेपालको सबैभन्दा ठूलो पार्टी हो हामी अहिले । हामी सबैतिर सरकारमा छौँ । हामी नभएको ठाउँ नै छैन ।'
पार्टीको नेतृत्वमा नै सरकार बन्ने सम्भावना रहेको बताउँदै थापाले त्यसो हुँदा पनि पार्टीमा खुसीयाली नरहेको बताए । प्रधानमन्त्रीदेखि गभर्नरसम्म कांग्रेसको हुने बताउँदै उनले थपे, 'पालिकामा, वडामा, संघमा सरकार, प्रदेशमा सरकार । अहिले हामीले बनाएका प्रधानमन्त्री र अब हुनेवाला प्रधानमन्त्री पनि हाम्रो । अब सबै हाम्रो । अब गभर्नर हाम्रो, ऊ हाम्रो, जताततै हाम्रो । खुसी हुनुपर्ने नि त कांग्रेस त ! सबै हाम्रो भएको बेलामा किन खुसी नभएको त ? हामीले खोजेको त्यो होइन रहेछ ।’
महामन्त्री थापाले कांग्रेस नेपालको राष्ट्रिय शक्ति भएको बताए । उनले नेपाली समाजमा एउटा उकुसमुकुस रहेको बताए । बाहिर आउने र जाने कुरा चलिरहने उनको भनाइ थियो । नेपाल बन्दैन भन्ने भाष्यप्रति चिन्तित हुनुपर्ने पनि उनको भनाइ थियो । कांग्रेसलाई गनगन गर्ने र भाग्ने ठाउँ नरहेको बताए ।
