काठमाडौँ — रसुवा भन्सार नाकाबाट ७ किलोभन्दा बढी सुन बरामद, २५ बुँदे ‘कार्य आह्वान’ जारी गर्दै सकियो सगरमाथा संवाद, विदेशीपन झल्किने विद्यालयको नाम परिवर्तन गरी नेपालीमा राख्नैपर्नेदेखि भारतले लगायो बंदरगाहमा बंगलादेशबाट आयात हुने सामानमा प्रतिबन्धसम्मका समाचार आज चर्चामा रहे ।
०००
रसुवा भन्सार नाकाबाट करिब ७ किलो सुन बरामद भएको छ । केरुङबाट स्याउ लिएर आउको कन्टेनरमा उक्त परिमाणको सुन बरामद भएको हो । रसुवा भन्सार कार्यालय प्रमुख तुलसीप्रसाद भट्टराईले ७ वटा बिस्कुट र केही साना टुक्रामा सुन बरामद भएको कान्तिपुरलाई जानकारी दिए ।
०००
नेपाल सरकारले पहिलोपटक आयोजना गरेको सगरमाथा संवाद २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै आज सम्पन्न भएको छ । ‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयको पहिलो संस्करण शुक्रबारदेखि सुरु भएको थियो ।
०००
नेपालमा विद्यालय स्थापना गर्दा वा हाल सञ्चालनमा रहेका विद्यालयको नाम परिवर्तन गर्दा नेपालीपन झल्किने नाम राख्नुपर्ने प्रस्ताव विधेयकमा गरिएको छ । विदेशीपन झल्किने गरी नाम राखेर सञ्चालनमा रहेका विद्यालयले नाम परिवर्तन गर्नैपर्ने व्यवस्था पनि राखिएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्न गठन गरेको एमाले सांसद छविलाल विश्वकर्मा संयोजक रहेको उपसमितिले विद्यालयको नयाँ नाम राख्दा नेपालीपन झल्किने गरी राख्नुपर्ने व्यवस्था प्रस्ताव गरेको छ ।
०००
चैत १५ गतेको तीनकुने घटनाका मुख्य योजनाकार मानिएका व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । आइतबार न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले प्रसाईंसहित २६ जनालाई अनुसन्धानका लागि थप ४ दिन म्याद दिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।
०००
भारतले बंगलादेशका तयारी कपडा र खाद्यवस्तुजस्ता सामग्रीको आयातमा प्रतिबन्ध लगाएको छ । शनिबार भारतको वाणिज्य मन्त्रालय अन्तर्गतको डाइरेक्टरेट जनरल अफ फरेन ट्रेड ९डीजीएफटी०ले यस सम्बन्धमा एक सूचना जारी गरेको छ । डीजीएफटीका तर्फबाट लगाइएको प्रतिवबन्ध तत्काल नै लागू गरिएको छ । यी प्रतिबन्ध अन्तर्गत बंगलादेशबाट तयारी गारमेन्ट्सको आयात अनुमति कुनै पनि बन्दरगाहबाट दिइने छैन ।
