काठमाडौँ — नेपालमा विद्यालय स्थापना गर्दा वा हाल सञ्चालनमा रहेका विद्यालयको नाम परिवर्तन गर्दा नेपालीपन झल्किने नाम राख्नुपर्ने प्रस्ताव विधेयकमा गरिएको छ । विदेशीपन झल्किने गरी नाम राखेर सञ्चालनमा रहेका विद्यालयले नाम परिवर्तन गर्नैपर्ने व्यवस्था पनि राखिएको छ ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्न गठन गरेको एमाले सांसद छविलाल विश्वकर्मा संयोजक रहेको उपसमितिले विद्यालयको नयाँ नाम राख्दा नेपालीपन झल्किने गरी राख्नुपर्ने व्यवस्था प्रस्ताव गरेको छ ।
विद्यालय शिक्षा विधेयकबारे उपसमितिले तयार पारेको प्रतिवेदनमा लेखिएको छ, 'विद्यालयको नामकरण वा नाम परिवर्तन गर्दा नेपालको प्राकृतिक, सांस्कृतिक स्थान, व्यक्ति वा स्मारकको नाम झल्किने गरी राख्नुपर्नेछ ।'
कस्ता विद्यालयका नाम परिवर्तन गर्न नपाउने भन्ने व्यवस्था पनि विधेयकमाथि तयार पारिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । 'ऐतिहासिक व्यक्ति, स्मारक तथा राष्ट्रिय प्राकृतिक सम्पदाको नाममा नामकरण भएका विद्यालयको नाम परिवर्तन गरिने छैन,' विधेयकको दफा १२ मा व्यवस्था गरिएको छ ।
विदेशी व्यक्ति, संस्था, स्थान वा विदेशीपन झल्किने गरी सञ्चालनमा रहेका विद्यालयको नाम यो ऐन सञ्चालन भएको मितिले तीन वर्षभित्र परिवर्तन गर्नैपर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ । 'यो ऐन प्रारम्भ हुँदाका बखत सञ्चालनमा रहेका कुनै विद्यालयको विदेशी व्यक्ति, संस्था, स्थान वा विदेशीपन झल्कने गरी नामकरण गरिएको भएमा यो ऐन प्रारम्भ भएको मितिले तीन वर्षभित्र नेपालीपन झल्कने गरी विद्यालयको नाम परिवर्तन गर्नुपर्नेछ,' विधेयकमा प्रस्ताव गरिएको छ ।
यो व्यवस्था संसद्बाट जस्ताको तस्तै पारित भएमा नयाँ नाम राख्दा र नाम परिवर्तन गर्दा नेपालीपन झल्किने हुनुपर्नेछ । त्यस्तै, नेपालीपन झल्किने नाम परिवर्तन गर्न नपाउने व्यवस्था पनि गरिएको छ ।
