निजामती सेवामा दुई वर्ष 'कुलिङ पिरियड' राख्न सरकार सहमत

जेष्ठ २, २०८२

जयसिंह महरा

Government agrees to keep two years 'cooling period' in civil service

काठमाडौँ — निजामती सेवाका उच्च तहका कर्मचारी अवकाश पाएपछि कूटनीतिक, राजनीतिक, संवैधानिक लगायतका पदमा जानबाट रोक्नका लागि संघीय निजामती सेवा विधेयकमा २ वर्षे कुलिङ पिरियड राख्न सरकार सहमत भएको छ । 

प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सरकारको तर्फबाट गृहमन्त्री रमेश लेखकले निजामती सेवामा कुलिङ पिरियड २ वर्ष राख्न तयार भएको बताएका हुन् । 'कुलिङ पिरियड २ वर्ष गरौं, त्यसभन्दा बढी नगरौं । २ वर्षभन्दा बढी गरियो भने जनशक्ति अभाव पनि हुनसक्छ,' उनले भने । 

संसदीय समितिमा संघीय निजामती विधेयकमाथि सहमति जुटोस् भनेर सरकार कुलिङ पिरियड २ वर्ष राख्न तयार भएको गृहमन्त्रीको भनाइ थियो । 

‘कुलिङ पिरियड’ कति समय राख्ने भन्नेमा सत्तापक्षका सांसदबीच नै विवाद थियो भने प्रतिपक्षी दलका सांसदले राज्यव्यवस्था समितिले गठन गरेको उपसमितिको प्रतिवेदनमा लिखित फरक मत राखेका थिए । माओवादी, रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायतका राजनीतिक दलले लिखित फरक मत राखेका थिए, कुलिङ पिरियड २ वर्ष राख्ने भनेर । कांग्रेसका सांसदले पनि कुलिङ पिरियड २ वर्ष राख्नुपर्ने अडान राख्दै आएका थिए भने एमालेका सांसद र मन्त्री बढीमा १ वर्ष राख्नुपर्ने अडानमा थिए ।

विधेयकको सुरुमा मुख्यसचिव, कानुन सचिव र प्रधानमन्त्री कार्यालयमा कार्यरत कानुन सचिवको दबाबमा न्यायाधीश र राजदूत बन्न ‘कुलिङ पिरियड’ नलाग्ने व्यवस्था राखिएको थियो । त्यो व्यवस्थाले कर्मचारीलाई विभेद गर्ने भनी आलोचना भएपछि समिति पनि पछि हटेको थियो । तर मुख्यसचिव र सचिवहरूले ‘कुलिङ पिरियड’ राख्न नहुने भन्दै दबाब दिँदै आउँदा सत्तापक्षको एक दल १ वर्षमात्रै कुलिङ पिरियड राख्नुपर्ने पक्षमा उभिँदा अर्को दल भने २ वर्ष राख्नुपर्ने अडानमा थियो । 

उच्च पदस्थ कर्मचारीको स्वार्थअनुसारका कुलिङ पिरियड नराख्ने वा राखेपनि छोटो समय राख्न लागिएको भन्दै सत्तापक्षका सांसदबीच नै विवाद भएको थियो ।

समितिमा यसअघि पेस गरिएको प्रतिवेदनको बुँदा नम्बर ४१ मा ‘कुलिङ पिरियड’ को व्यवस्था प्रस्ताव गरिएको थियो । संघीय निजामतीको उच्च पदबाट अवकाश भएपछि निश्चित अवधिसम्म संवैधानिक, कूटनीतिक र राजनीतिक पदमा नियुक्ति नपाउने व्यवस्था राख्न सांसदहरूले खोजेका थिए । ‘कुलिङ पिरियड’ सम्बन्धमा समितिको अन्तिम मस्यौदा प्रतिवेदनमा लेखिएको थियो, ‘निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले एक वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउने छैन ।’ यो एक वर्षको ठाउँमा २ वर्ष राख्न सरकार सहमत भएको हो । 

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully