काठमाडौँ — टेरामक्स प्रकरणमा कांग्रेस सांसद मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, दुई–चार दिनमै नयाँ गभर्नर नियुक्त हुने सञ्चारमन्त्री गुरुङको भनाइ, पाँच वर्षमा पनि बनेन संसद् भवन, ठेकेदारले हल्का रूपमा लिएको उपप्रधानमन्त्री सिंहको भनाइदेखि गाजामा इजरायलको भीषण हवाई आक्रमण हुँदा कम्तीमा १ सय ३ जना मारिएसम्मका खबर आज चर्चामा रहे ।
000
नेपाल दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद घोटालामा कांग्रेस सांसद मोहनबहादुर बस्नेत र पूर्व कानून सचिव धनराज ज्ञवालीसहित १६ जना व्यक्ति र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १६ जना व्यक्ति र दुई कम्पनीविरुद्ध ३ अर्ब २१ करोड बढी बिगो माग दाबीसहित बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
000
प्रधानमन्त्री केपी शर्मा ओलीले १४ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने बताएका छन्। बिहीबार काठमाडौँमा आयोजित पूर्वयोजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
000
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गभर्नर नियुक्ति छिट्टै हुने बताएका छन्। मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै बिहीबार सिंहदरबारमा मन्त्री गुरुङले नेपाल राष्ट्र बैंकको गभर्नर दुई–चार दिनभित्रै नियुक्ति हुने जानकारी दिए। उनले अब तलमाथि नभई केही दिनभित्रै गभर्नर नियुक्त हुने बताएका हुन्।
000
सिंहदरबारमा निर्माणाधीन संघीय संसद् भवनको काम समयमै सम्पन्न गर्न नसकेको भन्दै सांसदहरूले ठेकेदारको प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन्। सिंहदरबारमा निर्माणाधीन संघीय संसद् भवनको हालसम्मको प्रगति सम्बन्धमा छलफल गर्न बिहीबार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा बोल्दै सांसदहरूले ठेकेदारले सरकारलाई नटेरेको बताएका हुन्। उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारमा निर्माणाधीन संघीय संसद् भवनलाई समयमै सम्पन्न गर्ने विषयमा ठेकेदारले हल्का रूपले लिएको भन्दै असन्तुष्टि जनाएका छन् ।
000
गाजामा इजरायलले गरेको आक्रमणमा कम्तीमा १ जना ३ जनाको ज्यान गएको छ । दर्जनौं मानिसहरू घाइते भएका अन्तर्राष्टिय सञ्चार माध्यमहरूले जनाएका छन् । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलले खान युनिस, बेइत लाहिया र देर अल(बलाह क्षेत्रमका विभिन्न स्थानमा बुधबार मध्य रातदेखि हवाई आक्रमण सुरू गरेको हो ।
