जेरुसलेम — गाजामा इजरायलले गरेको आक्रमणमा ज्यान गुमाउनेको संख्या १ सय ३ पुगेको छ । अन्तर्राष्टिय सञ्चार माध्यमहरूका अनुसार दर्जनौं मानिसहरू घाइते भएका छन् ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलले खान युनिस, बेइत लाहिया र देर अल-बलाह क्षेत्रमका विभिन्न स्थानमा बुधबार मध्य रातदेखि हवाई आक्रमण सुरू गरेको हो ।
दक्षिणी क्षेत्रका कम्तीमा ९ अलग-अलग स्थानमा आक्रमण भएको मन्त्रालयको भनाइ छ । त्यस्तै, इजरायलले उत्तरी गाजाका स्थानीयलाई गाजाका केही भाग छोड्न आदेश दिएको छ ।
गाजामा प्रवेश गर्ने सहायतामाथि इजरायली नाकाबन्दी जारी रहँदा हवाई आक्रमण गरिएको हो । उक्त क्षेत्रमा इजरायलले १० सातादेखि कुनै पनि आपूर्ति हुन दिएको छैन ।
‘भोकमरीको गम्भीरताका कारण म राम्ररी हिँडडुल गर्न सक्दिनँ,’ एक स्थानीय व्यक्तिको सन्देश उल्लेख गर्दै बीबीसीले जनाएको छ । गाजा क्षेत्रमा क्रियासिल १० विभिन्न सहायता एजेन्सीहरूले मानवीय अवस्था बिग्रँदै गएको बताएका छन् ।
हमासले ७ अक्टोबर २०२३ मा इजरायलमा आक्रमण गरेसँगै गाजा क्षेत्रमा युद्ध चर्किएको हो । उक्त आक्रमणमा १२ सय जनाको ज्यान गएको थियो भने हमासले २ सय ५१ जनालाई बन्धक बनाएर लगेको थियो । तीमध्ये नेपाली युवा विपिन जोशीसहित ५८ जना अझै हमासको नियन्त्रणमा छन् ।
त्यसयता इजलायलले गरेको आक्रमणमा गाजामा कम्तीमा ५२ हजार ८ सय २९ जनाको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
![At least 103 killed in Israeli attack on Gaza [UPDATE]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/gaza-1-1552025022729-1000x0.png&w=1001&h=0)