वर्षान्तमा रकमान्तर हुने कार्य नियन्त्रण गर्नुपर्छ : महालेखापरीक्षकको प्रतिवेदन

वैशाख ३१, २०८२

कान्तिपुर संवाददाता

The transfer of funds should be controlled at the end of the year: Auditor General's report

काठमाडौँ — महालेखापरीक्षकको प्रतिवेदनले वर्षान्तमा रकमान्तर गरी खर्च गर्ने कार्य नियन्त्रण गर्न सिफारिस गरेको छ। महालेखा प्रतिवेदन २०८२ अनुसार सबैभन्दा धेरै रकमान्तर लुम्बिनी प्रदेशले गरेको पाइएको छ। उक्त प्रदेशले १ अर्ब १५ करोड १ लाख ५४ हजार रुपैयाँ रकमान्तर गरेको उल्लेख गरिएको छ।

‘यो वर्ष ७ प्रदेशको सुरुमा विनियोजित बजेट २ खर्ब ८० अर्ब १९ करोड ५३ लाख रुपैयाँ रहेकोमा ३३ अर्ब ८८ करोड २४ लाख थप र ३३ अर्ब ७५ करोड ५१ लाख घट भई २ खर्ब ८० अर्ब ३२ करोड २६ लाख रुपैयाँ बजेट कायम गरिएको देखिन्छ,’ प्रतिवेदनमा उल्लेख गरिएको छ, ‘सोमध्ये २०८१ सालको असार महिनामा मात्र कोशी प्रदेशले ९१ करोड ९ लाख ३६ हजार, मधेश प्रदेशले १० करोड २ लाख ५३ हजार, गण्डकी प्रदेशले ९४ करोड ८९ हजार, लुम्बिनी प्रदेशले १ अर्ब १५ करोड १ लाख ५४ हजार र कर्णाली प्रदेशले ४ करोड ४८ लाख ९७ हजार रुपैयाँ रकमान्तर गरेका छन्। वर्षान्तमा रकमान्तर गरी खर्च गर्ने कार्यमा नियन्त्रण गर्नुपर्दछ।’

महालेखाले प्रदेशगत आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनअनुसार स्वीकृत बजेटको रकम एक बजेट उपशीर्षक, स्रोत वा खर्च शीर्षकबाट अर्को बजेट उपशीर्षक, स्रोत वा खर्च शीर्षकमा रकमान्तर गर्ने अधिकार आर्थिक मामिला हेर्ने मन्त्रालयको हुने व्यवस्था रहेको भन्दै वर्षान्तमा रकमान्तर गर्ने कार्य नियन्त्रण गर्नुपर्ने औँल्याएको छ।

कान्तिपुर

Link copied successfully