त्रिवि शिक्षण अस्पतालको २० र परीक्षा नियन्त्रण कार्यालयको १० करोड गायब

प्रतिवेदनअनुसार त्रिवि शिक्षण अस्पतालको २० करोड ४१ लाख ७४ हजार र परीक्षा नियन्त्रण कार्यालयको १० करोड १० लाख ३४ हजार रुपैयाँ गायब देखिएको हो।

वैशाख ३१, २०८२

कान्तिपुर संवाददाता

20 crores of the University Teaching Hospital and 100 crores of the Examination Control Office disappeared

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज र परीक्षा नियन्त्रण कार्यालय बल्खुको स्रेस्तामा रहेको भन्दा बैंक खातामा ३० करोड रुपैयाँ कम मौज्दात रहेको पाइएको छ।

बुधबार सार्वजनिक महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदनले छानबिन गरी बैंकमा कमी देखिएको रकम असुलउपर गर्न सुझाव दिएको छ। प्रतिवेदनअनुसार त्रिवि शिक्षण अस्पतालको २० करोड ४१ लाख ७४ हजार र परीक्षा नियन्त्रण कार्यालयको १० करोड १० लाख ३४ हजार रुपैयाँ गायब देखिएको हो।

‘शिक्षण अस्पतालको आर्थिक वर्ष २०८०/८१ को विवरणअनुसार ९४ करोड ७८ हजार मौज्दात देखिएको छ। तर स्रेस्तामा उल्लेखित रकमभन्दा बैंकमा २० करोड ४१ लाख ७४ हजार रुपैयाँ कम मौज्दात देखिएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘विगतदेखि नै सबै खाताको बैंक हिसाब मिलान विवरण तयार नगरेको हुँदा छानबिन गरी कमी देखिएको रकम असुल गर्नुपर्दछ।’

विश्वविद्यालयअन्तर्गतका प्रत्येक निकायले आम्दानी–खर्चको किताबअनुसार बैंक मौज्दात र बैंक स्टेटमेन्टअनुसार मौज्दात रकम भिन्दा अनिवार्य रूपमा हिसाब मिलाउने व्यवस्था भए तापनि कार्यान्वयन नभएको जनाइएको छ।

त्यस्तै, परीक्षा नियन्त्रण कार्यालयको वित्तीय विवरणअनुसार ९९ करोड ९९ लाख ८२ हजार मौज्दात देखिए तापनि बैंकमा १० करोड १० लाख ३४ हजार रुपैयाँ कम मौज्दात देखिएको प्रतिवेदनमा औँल्याइएको छ।

कान्तिपुर

Link copied successfully