काठमाडौँ — धुम्बराही चिल्ड्रेन्स लाइब्रेरीकी संस्थापक स्कन्द स्वाँरले सानैदेखि बालबालिकाहरू भिन्न पृष्ठभूमि भएकाहरूसँग घुलमिल हुँदा त्यसले विभेद हट्दै जाने बताएकी छन् ।
कान्तिपुर मिडिया ग्रुपको सह–प्रकाशन नारी मासिकले आयोजना गरेको पाँचौं संस्करणको ‘निर्भिक नारी’ कार्यक्रममा उनले यस्तो भनाइ राखेकी हुन् ।
उनले दुई वर्षदेखि धुम्बाराहीमा रहेक शनिबार बालबालिकाको लागि खुला पुस्ताकालाय सञ्चालन गर्दै आएकी छन् । ‘मेरो पुस्तकालयमा बालबालिकाहरू विभिन्न पृष्ठभूमिबाट आएका हुन्छन्, सरकारी र निजी विद्यालय दुवैबाट,’ दोस्रो सत्र ‘किशोरोवस्थाका कुरा’ मा उनले भनिन्, ‘उनीहरू सबै एउटै ठाउँमा बसेर किताब पढ्छन् र खेलहरू खेल्छन् । मलाई लाग्छ, जब तपाईं सानै उमेरदेखि सबैलाई समावेश गर्न सिक्नुहुन्छ, तपाईंले न त अरूलाई विभेद गर्नुहुन्छ । तपाईं आफैं विभेदको सामना गर्नुहुन्छ । जुन एकदम राम्रो कुरा हो ।’
उनी सेन्ट जेभियर्समा ए लेभलमा अध्ययन गर्दैछिन् । उनको पढ्ने बानी भएको र घरमा किताब थुप्रिएपछि बालबालिकाको लागि खुला पुस्तकालय सुरु गरेकी हुन् । जहाँ उनले बालबालिकालाई अन्तरक्रियात्मक गतिविधि हुने, पढ्ने, आफूले पढेको किताब साटासाट गर्ने र दान समेत दिन सकिने उनले बताएकी छन् ।
‘केही रमाइलोका साथ राम्रो गरौं भन्ने सोचले यो पुस्तकालय सुरु गर्यौं । यसले सबै बालबालिकालाई पढ्न प्रेरित गर्छ,’ उनी भन्छिन्, ‘हरेक शनिबार बिहान ९ देखि १० बजेसम्म झण्डै ३० देखि ४० जना बालबालिकाहरू हाम्रो पुस्तकालयमा आउँछन् । जुन एकदम राम्रो कुरा हो ।’
उनको पुस्तकालयमा बालबालिकालाई पढ भनेर दबाब नदिने र अन्तरक्रियात्मक क्रियाकलापमा समेत सहभागी गराइने उनले बताइन् ।
