काठमाडौँ — उच्च शिक्षाका लागि विदेश जानूलाई खासै समस्याको विषय मान्दिनन्, युनाइटेड एकेडेमीको कक्षा ११ मा साइन्स अध्ययन गर्दै आएकी छात्रा रीति महर्जन । 'निर्भिक नारी'को दोस्रो सत्र ‘किशोरावस्थाका कुरा’मा बोल्दै आफ्नो सपना पूरा गर्नका लागि विदेश जानु समस्याको विषय नभएको महर्जनले बताइन् ।
‘नेपालको शिक्षण प्रणाली परम्परागत छ । हामीकहाँ सबै पाठ कण्ठ गराएर नै पढाउने गरिन्छ, मैले पनि त्यसरी मेमोराइजेसन गरेर नै १० पास गरेको हो । पाठहरु पनि पूराना नै छन्,’ महर्जनले भनिन्, 'अतिरिक्त क्रियाकलापमा ध्यान दिएको जस्तो छैन । पढाई र त्यसमा पनि सन्तुलन मिलाइएको छैन ।'
युनाइटेड एकेडेमीको कक्षा ११ मा साइन्स अध्ययन गर्दै आएकी उनले साथीसँग मिलेर ‘बुक क्लब’ खोलेकी छन् । किताब पढ्न रुचाउने उनले आफूले पढ्दै आएका किताबमाथि समीक्षा र विचारहरु समेट्न यस्तो क्लब खोलेकी हुन् ।
‘यो क्लब मेरो ह्रदयको एकदम नजिक छ । किनभने यो नेपाली मात्रै होइन विदेशी पाठकका लागि पनि सेफ स्पेस बनेको छ जहाँ उनीहरुले आफूलाई मनपर्ने किताबको समीक्षा र विचार लेख्न पाउँछन्,’ महर्जनले भनिन् । साइन्सकी विद्यार्थी उनलाई कहिलेकाहीँ बुबाले सोध्ने गर्नुहुन्छ – तिमीलाई कसरी कला साहित्यमा रुचि भयो ? उनी आफूले साइन्स अध्ययनसँगै कलाका विषय पनि सम्हाल्न सक्ने धारणा राख्छिन् । संगीत, लेखन र फेसनमा रुचि राख्ने उनी महिला सशक्तीकरण केन्द्रित म्यागाजिनमा रिल्स क्रियटर र ब्लग लेखकका रुपमा काम गर्छिन् ।
उनी एआई सकरात्मकका साथै नकरात्मक पक्ष रहेको विचार राख्छिन् । एआईले गर्दा नयाँ विषयबारे जानकारी लिन पाए पनि यसले मानवीय सिर्जनाहरुलाई खुम्च्याएको बताउँछिन् । ‘लेखकका हिसाबले एआई प्रयोग गर्दा मलाई गलत अनुभव पनि हुन्छ । हो, एआईले धेरै सहयोग गरेको छ । म एआईको सहयोगमा लेख्ने पनि गर्छु । सानोबेलाको तुलनामा यसले गर्दा मेरो सोच्ने क्षमता कम बनाएको छ । यसले मेरो सोच्नेदेखि सिर्जनशील स्वभावमा असर पारेको छ,’ महर्जनले भनिन्, 'यसको प्रयोगमा डिपसिक भिडियो पनि बनाइरहेका छन् । सायद हामीले यसबारे बोल्नुपर्छ । त्यसैले भविष्यमा हामीलाई मानवका सिर्जनाहरु चाहिन्छ ।'
महिलालाई अझै पनि करिअरभन्दा पनि बिहेका लागि प्रश्नहरु मात्रै गरिने पनि उनको विश्लेषण छ । सम्पत्तिमाथिको अधिकारमाथि बोल्दै रीतिले प्रश्न गरिन् – 'इज्जत बचाउने केटीले, सम्पत्तिचाहिँ केटालाई । लैङ्गिक भूमिकामा विषयमा बोल्दै महिलालाई अहिले पनि भान्सामै सिमित गराइएको पनि उनको धारणा छ ।
‘आमालाई प्रश्न गर्छु म, हामी केटीहरुको जीवन यस्तै हो भन्नुहुन्छ आमा । सायद यो विषयलाई पनि सामान्यीकरण गरिएको छ,’ उनले भनिन् । नेवारी समुदायमा अझै पनि महिलाहरु पछाडि नै रहेको उनले सुनाइन् ।
