काठमाडौँ — जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजकी ब्रान्ड म्यानेजर श्रीधा राज्यलक्ष्मी शाहले आफूलाई समाजले स्वीकार्न सर्वप्रथम आफूलाई स्वीकार्नु पर्ने बताएकी छन् । कान्तिपुर मिडिया ग्रुपको नारी म्यागजिनले बुधबार आयोजना गरेको पाँचौं संस्करणको ‘निर्भिक नारी : नेतृत्वमा नारी शक्ति’ कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।
उनले आफ्नो पहिचान स्विकार गरेपछि मात्र समाजले आफूलाई स्वीकारेको प्रसंग सुनाउँदै भनिन्, ‘शिक्षित र व्यवसायिक महिलाका रुपमा मैले महसुस गरेको कुरा भनेको आफूलाई स्विकार गर्न सिक्न हो । म लेस्बियनको रुपमा बाहिर आउन, आफूलाई चिन्न धेरै समय लाग्यो । विवाह गरेपछि आफूलाई चिनेँ । त्यो मेरो टर्निङ प्वाइन्ट बन्यो । समाजमा आउन गाह्रो भयो तर जरुरी थियो ।’
उनले थपिन्, ‘म आफ्नो तरिकाले बाँच्छु मलाई जे लगाउन मन छ लगाउँछु । मैले सहज महसुस नगरेसम्म समाजले गर्दैन भन्ने लाग्यो । मैले मेरो पहिचान स्विकारेपछि सबैले स्विकार्नु भयो ।’
लेस्बियनलाई मानिसहरुले हेर्ने तरिका फरक छ । अहिले बिस्तारै राम्रो तरिकाले हेर्नेहरु माया गर्नेहरु पनि बढेको उनले बताइन् ।
