काठमाडौँ — नेपालका लागि ईयु राजदूत भेरोनिक लोरेन्जो नेपालका महिलाहरुले अझै पनि लैंगिक विभेद सहनुपरेको बताएकी छन् ।
पाँचौं निर्भिक नारीको तेस्रो सत्र ‘कूटनीतिज्ञको आँखामा नेपाल’ शीर्षकमा बोल्दै कानुनमा महिलाका विषय समेटिँदा राजनीतिमा उनीहरुको सहभागिता बढेको उनले बताइन् ।
‘नेपालका महिलाहरु एकदमै भुइँबाट आएका हुन्छन् । उनीहरुले विभेद भोगेका हुन्छन् । शिक्षा नै महिला प्रगतिका लागि आधार बनेको छ । शिक्षाको पहुँचमा महिला सहभागिता बढेको छ । अहिले छात्राहरुले पढाइ धेरै राम्रो गरिरहेको छ, जुन बिर्सन नहुने प्रगति नै हो,’ उनले भनिन् ।‘
महिलाका सवालमा नीति बने पनि त्यसको कार्यान्वयन हुन नसकेको पनि लोरेन्जोको विश्लेषण छ । ‘अहिले स्थानीय सरकारमा महिलाहरु छन् । यो राम्रो हो, तर यतिले मात्रै पुग्दैन । शिक्षा र कानुन भएपनि महिलाबीच विभेद भइरहेको छ । अहिले पनि ४ जनामध्ये एक महिलाले लैंगिक हिंसा, दुर्व्यवहार सहिरहेका छन्,’ उनले भनिन्, 'नीति राम्रा बनेका छन् । तर, ती नीति र त्यसको कार्यन्वयनबीचको अन्तरमा काम हुन जरुरी छ । त्यसका लागि विचारमा पनि परिवर्तन आवश्यक छ ।'
युरोपियन युनियनसँग ‘जेन्डर एक्सन प्लान’ छ, जुन हरेक पाँच वर्षमा समयअनुसार अप्टेड भइरहन्छ । त्यसभित्रका महिलामाथि हुने हिंसा, आर्थिक सशक्तीकरण, राजनीतिक सहभागिताका तत्त्वहरु खासै परिवर्तन नभएको उनी सुनाउँछिन् । ‘यी तत्त्वहरु एकातिर छँदैछ । तर, यी तत्त्वमा हुनुपर्ने प्रगतिमा खासै परिवर्तन देखिँदैन,’ लोरेन्जोले भनिन्, 'लैंगिक समानताका लागि हामीले अर्को पनि कार्यक्रम गर्छौं–सशक्त महिला समृद्ध नेपाल ।'
लोरेन्जोका अनुसार ‘सशक्त महिला समृद्ध नेपाल’ले लैङ्गिक समानताका लागि काम गर्दै आइरहेको छ । महिलामाथि हुने हिंसा, त्यसमा परेका महिलालाई सुरक्षा दिने क्षेत्रमा पनि ईयुले काम गरिरहेको छ । त्यस्तै, महिलाको आर्थिक सशक्तीकरणमा पनि यो कार्यक्रमले छुँदै आएको छ ।
‘आफ्नो दुई खुट्टामा उभिन नसक्ने महिला पुरुषसँग बराबर भएर उभिन पाउँदैन, या उनीहरु देखिँदैनन् । त्यसैले आर्थिक रुपले स्वतन्त्र हुनु, एकदमै आवश्यक छ महिला सशक्तीकरणका लागि,’ उनले भनिन् ।
त्यस्तै, राजनीतिमा महिला सहभागिता बढाउँदा त्यसले महिला अधिकारका मुद्दालाई अगाडि बढाउने पनि उनको भनाइ छ । ‘राजनीतिमा सहभागिता बढाउनु इन्जिनजस्तै हो । यही इन्जिनले महिलासम्बन्धी अन्य मुद्दाहरुलाई अगाडि बढाउने शक्ति प्रदान गर्दछ,’ उनले भनिन् । महिला सशक्तीकरणका लागि महिलावादी पुरुष हुर्काउनुपर्ने पनि उनले धारणा राखिन् । उनले भनिन् ,’पुरुषलाई महिलावादी शिक्षा प्रदान गर्नु पर्दछ ।’
