काठमाडौँ — नेपालका लागि अस्ट्रेलियन राजदूत लीन जोन्स्टोनले नेपालमा पुरुषलाई पनि महिला अधिकार र महिलाका विषयमा शिक्षित गराउनुपर्ने बताएकी छन् ।
कान्तिपुर मिडिया ग्रुपको सह–प्रकाशन नारी म्यागजिनले बुधबार आयोजना गरेको पाँचौं संस्करणको ‘निर्भिक नारी’ कार्यक्रममा राजदूत जोन्स्टोनले नेपालमा धेरै अवसर र चुनौती रहेकाले पुरुषलाई महिला शिक्षा दिनुपर्ने बताएकी हुन् ।
‘मलाई लाग्छ नेपालमा केटाहरूलाई पनि केटीहरूको अधिकार र महिलासम्बन्धी कुरामा शिक्षित गराउने अवसरहरू छन्,’ उनले भनिन्, ‘युवतीहरूलाई सार्वजनिक जीवनमा संलग्न हुने, विद्यालय, कार्यक्षेत्र, सार्वजनिक स्थान, राजनीति र व्यवसायमा सहभागी गराउन सकिन्छ ।’
तेस्रो सत्र ‘कूटनीतिज्ञको आँखामा नेपाल’ विषयक अन्तरक्रियामा उनले नेपालमा राम्रो अवसर भएपनि शिक्षाको क्षेत्रमा काठमाडौं उपत्यकामा राम्रो पहुँच हुनु र सिंगो नेपालमा उस्तै अवस्था नभएको बताइन् ।
‘नेपालको लागि शिक्षामा पहुँच एकदम ठूलो चुनौती हो । यो केवल केटा र केटीबीचको मात्रै होइन,’ उनले भनिन्, ‘हामी भन्छौं कि उपत्यकामा शिक्षाको स्तर निकै राम्रो छ तर, सिङ्गो नेपालका लागि अवस्था उस्तै छैन ।’ त्यसैले शिक्षामा पहुँचको कुरा गर्नुपर्ने उनको भनाइ छ । यसमा प्रविधि र पाठ्यक्रमको शिक्षामात्र नभइ जीवनसँग जोडिएको शिक्षा पनि रहेको उनले बताइन् । साथै उनले महिलालाई सशक्त गर्नुपर्ने र आफ्नो आवाज राख्नलाई महिला प्रतिनिधि राख्नुपर्ने उनको भनाइ छ ।
