हामीलाई नम्बर होइन सीप चाहिन्छ : अफ्रोजा नसिम

वैशाख २४, २०८२

कान्तिपुर संवाददाता

We need skills not numbers : Afroja Nasim

काठमाडौँ — विश्वनिकेतन सेकेन्डरी स्कुलबाट एसईई दिएकी अफ्रोजा नसिमले 'निर्भिक नारी'को पाँचौं संस्करणको दोस्रो सत्रमा किशोर–किशोरीहरूको मनोविज्ञान र शिक्षाप्रणालीसम्बन्धी महत्त्वपूर्ण विचार व्यक्त गरेकी छिन् ।

'किशोरावस्थाको कुरा' शीर्षकको उक्त कार्यक्रमको बहस सत्रमा बोल्दै अफ्रोजाले हालको शिक्षा प्रणालीप्रति गम्भीर प्रश्न उठाइन् । 'हाम्रो शिक्षण पद्दति बुझेर सिकाउने होइन, कण्ठस्थ गराएर नम्बर ल्याउनेमा केन्द्रित छ,' उनले भनिन्, 'विद्यार्थीलाई बुझ्न हैन, याद गर्न लगाइन्छ । यसरी हाम्रो सिर्जनात्मक क्षमता कहाँबाट विकास हुन्छ ?'

उनले आफ्नै अनुभव सुनाउँदै हालै भारतको एउटा समाचार देखेको उल्लेख गरिन्, जहाँ एक छात्रासँग ५० भन्दा बढी प्रमाणपत्र र थुप्रै मेडलहरू थिए, तर पनि उनलाई इन्टर्नसिपको अवसर मिलेन । 'यसैले केवल प्रमाणपत्र वा नम्बरले पुग्दैन, जीवनमा चाहिने वास्तविक सीप हुनु जरुरी छ,' उनले स्पष्ट पारिन् ।

विद्यालयहरूमा सिर्जनात्मक सोच र व्यावहारिक शिक्षा जोडिनुपर्ने उनको धारणा छ । 'हामीलाई कापीमा नोट दिइन्छ, पढ र लेख भनिन्छ, तर त्यो सिकाइ होइन, त्यो त केवल परीक्षा पास गर्ने तरिका हो,' उनले जोड दिइन् ।

निर्भिक नारी

कान्तिपुर

Link copied successfully