आज देश-दुनियाँमा के-के भयो ?

वैशाख २३, २०८२

कान्तिपुर संवाददाता

What happened in the country today?

काठमाडौँ — वामपन्थी नेता प्रदीप नेपालको निधन, गभर्नर नियुक्तिको समस्या प्रधानमन्त्रीको कारण आएको देउवाको प्रस्टिकरण, धनुषा एमाले अधिवेशनमा तोडफोडपछि झडप हुँदा ५ घाइते, निर्वाचन स्थगितदेखि बिल मात्र बेच्ने ध्रुव देवलाई १ अर्बभन्दा बढी बिगो र जरिवानासम्मका खबर आज चर्चामा रहे ।  

०००

वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो नेता नेपालको निधन भएको अस्पताल उच्च स्रोतले जनाएको छ । उनी ७१ वर्षका थिए । अस्पतालको सघन उपचार कक्ष९आईसीयू०मा उपचाररत नेपालको केही समयअघि निधन भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

०००

कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा देखिएको समस्या प्रधानमन्त्री केपी शर्मा ओलीको कारणले नभएको स्पष्ट पारेका छन् । मंगलबार सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित ‘विद्यमान आर्थिक परिवेशमा बजेटले समेट्नुपर्ने नीति’ विषयक संवाद कार्यक्रममा बोल्दै देउवाले राष्ट्र बैंकभित्रकै समस्याका कारण नियुक्तिमा ढिलाइ भएको बताए ।  

०००

मधेश प्रदेशमा एमाले नेता रघुवीर महासेठ र लिला श्रेष्ठबीच बढेको शक्ति सञ्चयका कारण एमाले धनुषा अधिवेशन तनावपूर्ण बनेको छ । मतदानकै दिन मंगलबार एमाले धनुषा अधिवेशनमा झडप, तोडफोड र एक–अर्कालाई लखेटीलखेटी कुटपिट गरिएको छ । तनाव बढेपछि धनुषा एमालेको ८ औं अधिवेशनको निर्वाचन प्रक्रिया बुधबारसम्म स्थगित गरिएको छ । अधिवेशनमा दुई पक्षबीच तनाव बढेपछि झडपसमेत भएको थियो । झडपमा ५ जना नेता–कार्यकर्ता घाइते भएको धनुषा प्रहरीले जनाएको छ ।  

०००

सामान खरिद गरेपछि बिल प्राप्त गर्नु त सामान्य प्रक्रिया नै हो । तर, ध्रुव कन्स्ट्रक्सन प्रालिका सञ्चालक ध्रुव देवले भने बिल मात्र बेच्ने गरेको खुलेको छ । वस्तु तथा सेवा बिक्री नगरी बिल मात्र बेच्ने गरेका उनीविरुद्ध राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा राजस्व चुहावटसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ । विभागले राजस्व चुहावटसम्बन्धी कसुरमा देवविरुद्ध बिगो र जरिवाना गरी १ अर्ब २० करोड ९२ लाख ३० हजार ५ सय १६ रुपैयाँ असुलउपर गर्न माग गरेर सोमबार अभियोगपत्र दायर भएको हो । 

०००

जर्मनीको कन्जरभेटिभ दलका नेता फ्रेडरिक मर्जले चान्सलरका लागि संसदमा भएको मतदानमा आवश्यक बहुमत जुटाउनबाट चुकेका छन् । चान्सलर बन्नका लागि ३ सय १६ मत आवश्यक रहेकोमा उनले ३ सय १० मत मात्र प्राप्त गरे । जर्मन संसद् बुन्डेस्टागमा ६ सय ३० सदस्य छन् । जर्मनीको संघीय चुनाव जितेको साढे दुई महिनापछि भएको मतदानको नतिजामा मर्जलाई अप्रत्यासित झट्का लागेको हो । 

कान्तिपुर

Link copied successfully