धनुषा एमाले अधिवेशनमा तोडफोडपछि झडप : ५ घाइते, निर्वाचन स्थगित

वैशाख २३, २०८२

अजित तिवारी

Clash after vandalizing Dhanusha UML convention: 5 injured, election postponed

जनकपुर — मधेश प्रदेशमा एमाले नेता रघुवीर महासेठ र लिला श्रेष्ठबीच बढेको शक्ति सञ्चयका कारण एमाले धनुषा अधिवेशन तनावपूर्ण बनेको छ । मतदानकै दिन मंगलबार एमाले धनुषा अधिवेशनमा झडप, तोडफोड र एक–अर्कालाई लखेटीलखेटी कुटपिट गरिएको छ । तनाव बढेपछि धनुषा एमालेको ८ औं अधिवेशनको निर्वाचन प्रक्रिया बुधबारसम्म स्थगित गरिएको छ । 

अधिवेशनमा दुई पक्षबीच तनाव बढेपछि झडपसमेत भएको थियो । झडपमा ५ जना नेता–कार्यकर्ता घाइते भएको धनुषा प्रहरीले जनाएको छ । उनीहरुको घटनास्थलमै प्राथमिक उपचार गरिएको थियो । धनुषा प्रहरीका अनुसार घाइते हुनेमा सत्यनारायण महासेठ र महेश दासलगायतका छन् । महासेठ र दासको टाउको फुटेको छ भने अन्य ३ जना कुटपिटबाट घाइते भएका हुन् । एमाले धनुषाका  निवर्तमान अध्यक्ष राजकिशोर यादवलाई भने लेखेटीलखेटी कुटपिट गरिएको थियो । 

जिल्ला नेतृत्व चयनका लागि थालिएको निर्वाचन प्रक्रिया लम्ब्याउने र उम्मेदवार सूचीमा नाम थपघट गरिएकामा आक्रोशित एमाले धनुषाका नेता–कार्यकर्ताको प्रदर्शनले मंगलबार तनाव बढेको थियो । जनकपुरस्थित महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा मंगलबार बिहान ८ बजेदेखि निर्वाचन थाल्ने तयारी गरिएको थियो । सर्वसम्मतिबाट एमाले धनुषाको कार्यसमिति चयन हुन नसकेपछि मतदान निर्धारण गरिएको थियो । बिहान ठूलो संख्यामा मतदान गर्न पुगेका मतदातालाई तयारी नपुगेको भन्दै १० बजे मात्र मतदान सुरु हुने बताइएको थियो । 

Clash after vandalizing Dhanusha UML convention: 5 injured, election postponedत्यही क्रममा एमाले धनुषाका अध्यक्षका उम्मेदवार लक्ष्मीनारायण यादव पक्षले भने मतदाता नामावलीमा अनावश्यक थपघट गरिएको र मापदण्ड नपुगेकालाई पदाधिकारीमा उम्मेदवार कायमै राखेको भन्दै त्यसलाई सच्याउन माग गर्दै निधि भवनमा धर्ना बसेका थिए । ‘जिल्ला पदाधिकारी हुन्, एक कार्यकाल जिल्ला सदस्य वा केन्द्रीय भ्रातृ संगठनमा एक कार्यकाल काम गरेको हुनुपर्छ,’ लक्ष्मीनारायणले भने,‘मापदण्ड नपुगेका उम्मेदवारका विरुद्धमा उजुरी पनि परेको थियो । तर, निर्वाचन समितिले उनीहरूको उम्मेदवारी कायम नै राखे ।’

एमालेका युवा नेता जानी खानले सोमबार राति निर्वाचन समितिले प्रकाशन गरेको सूचनामा मोहम्मद एकवालको नाम मुस्लिम सदस्यमा उम्मेदवारी रहे पनि मंगलबार भने अर्को सूचनामा उनको उम्मेदवारी हटाइएको थियो । ‘जालझेल गरेर निर्वाचन समितिलाई पंगु बनाइएको छ,’ खानले भने,‘निर्वाचन समितिले आफूखुसी उम्मेदवार हटाउने र थप्ने काम गरेको छ । त्यसैले स्थिति तनावपूर्ण बन्यो ।’ 

अधिवेशनमा नेता महासेठ पक्षले भोला यादवलाई अध्यक्ष अघि सारेको छ भने लक्ष्मीनारायण भने नेता उमाशंकर अरगरिया पक्षका उम्मेदवार हुन् । अरगरियालाई नेता श्रेष्ठको साथ छ । यही दुई पक्षबीच अधिवेशनलाई लिएर विवाद छ । विवाद चर्किएपछि मंगलबार निर्वाचन समितिले प्रयोग गर्ने टेवल, कुर्सी, कम्प्युटरलगायतका सामान तोडफोड गरिएको छ । निधि भवनको मुख्य सभाकक्षमा पनि तोडफोड भएको र क्षतिको यकिन विवरण आइनसकेको केन्द्रका एक कर्मचारीले बताए । एमाले अधिवेशन भइरहेको निधि भवनमा अध्यक्षका उम्मेदवार दुवै पक्षका नेता–कार्यकर्ताले लगातार उग्र प्रदर्शन गर्दै तोडफोडमा उत्रिएपछि त्यहाँको सुरक्षा व्यवस्था बढाइएको थियो । 

एमाले धनुषाका नेता सोम शर्माले मतदाता नामावली पटक–पटक गरी तीन पटक प्रकाशन गरिएको बताए । ‘अन्तिम नामावली तीन पटक प्रकाशन गर्‍यो,’ उनले भने,‘हरेक पटक नाम थपघट गरिएको थियो । केही उम्मेदवारको नसोधी नै उम्मेदवारी फिर्ता गरियो । त्यसैले अन्योल र शंका उत्पन्न भएको छ ।’ एमाले धनुषाको जिल्ला अधिवेशन शनिबार पार्टीका उपाध्यक्ष ईश्वर पोखरलेलले उद्घाटन गरेका थिए । मधेश प्रदेशमा एमालेका नेता महासेठ र श्रेष्ठबीच चुलिएको विवादको असर धनुषा अधिवेशनमा पनि परेको छ ।

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully