काठमाडौँ — सामान खरिद गरेपछि बिल प्राप्त गर्नु त सामान्य प्रक्रिया नै हो । तर, ध्रुव कन्स्ट्रक्सन प्रा.लि. का सञ्चालक ध्रुव देवले भने बिल मात्र बेच्ने गरेको खुलेको छ । वस्तु तथा सेवा बिक्री नगरी बिल मात्र बेच्ने गरेका उनीविरुद्ध राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा राजस्व चुहावटसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ ।
विभागले राजस्व चुहावटसम्बन्धी कसुरमा देवविरुद्ध बिगो र जरिवाना गरी १ अर्ब २० करोड ९२ लाख ३० हजार ५ सय १६ रुपैयाँ असुलउपर गर्न माग गरेर सोमबार अभियोगपत्र दायर भएको हो । ‘विभागमा उजुरी प्राप्त भएपछि हामीले मंसिर दोस्रो हप्ता देखि यो विषयमा अनुसन्धान गरेका थियौं,’ यस घटनाका अनुसन्धान अधिकृत नवराज अधिकारीले भने,‘बिल दिने र त्यसबापत कमिसने लिएको अवस्थामा भेटिएपछि हामीले थप अनुसन्धान गरेर मुद्दा दायर गरेको हौं ।’
अधिकारीका अनुसार उनले काठमाडौं महानगरपालिका वडा नं. ३१ नयाँ बानेश्वरमा ध्रुव कन्स्ट्रक्सन नामको कार्यलय नै खोलेर वस्तु तथा सेवाको हस्तान्तरण नगरी मानिसलाई आवश्यक्ता अनुसारको बिल बीजक मात्र जारी गर्थे ।
विभागका प्रवक्ता एवम् उपमहानिर्देशक कृष्णकुमारी श्रेष्ठका अनुसार वस्तु तथा सेवाको हस्तान्तरण नगरी बिल बीजक मात्र जारी गर्नु राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण ) ऐन , २०५२ को दफा ३ विपरीत हो । ‘देवले यही ऐनको दफा ४ बमोजिमको कसुर गरेको पुष्टि भएपछि मूल्य अभिवृद्धि कर, आयकरको बिगो कायम गरी ऐन अनुसार बिगो असुल तथा विगोको शतप्रतिशत जरिवाना तोकिएको हो,’श्रेष्ठले भने,‘ सोअनुसार १ अर्ब २० करोड ९२ लाख ३० हजार ५ सय १६ रुपैयाँ असुलउपर गर्न तथा ऐनको दफा २३ को उपदफा (१)(घ) बमोजिम कैद सजायको मागदाबीसहित उच्च अदालत पाटनमा अभियोगपत्र दायर गरेका हौं ।’ ऐनअनुसार १० करोड रुपैयाँदेखि माथि जतिसुकै बिगो भए तीन वर्ष देखि पाँच वर्षसम्म कैद हुने सजाय छ ।
अभियोग पत्रमा देवले वस्तु तथा सेवाको हस्तान्तरण नगरी बिल बीजक मात्र जारी गरेकोसंगै खरिद कारोबारको भुक्तानी बैंकमार्फत नगरेको, बीजकहरू सिलसिलेवार जारी नगरेको, मूल्य अभिवृद्धि कर विवरण र आय विवरण दाखिला नगरेको आरोप छ । यस्तै, आयकर नतिरी झुटो विवरण र आय विवरण दाखिला नगरेको, मूल्य अभिवृद्धि कर तथा आयकरतर्फ झुटा विवरण पेस गरेको, मालसामान खरिदको स्रोत पुष्टि नभएको समेत उल्लेख छ ।
श्रेष्ठका अनुसार उनलाई नेपाल सरकारलाई नियमानुसार तिर्नु बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर तथा आयकरलगायतका राजस्व नतिरेको विषय अनुसन्धान गरेर मुद्दा दायर गरिएको हो । मूल्य अभिवृद्धि करतर्फ देवलाई ४५ करोड ८० लाख ८३ हजार ४ सय ३४ र आयकरतर्फ १४ करोड ६५ लाख ३१ हजार ८ सय २४ रुपैयाँ बिगो कायम गरी देवलाई ऐनअनुसार बिगो असुल तथा बिगोको शतप्रतिशत जरिवाना ६० करोड ४६ लाख १५ हजार २ सय ५८ रुपैयाँसहित १ अर्बबढीको जरिवानासहित कैद सजाएको माग गरिएको हो ।
