बर्लिन — जर्मनीको कन्जरभेटिभ दलका नेता फ्रेडरिक मर्जले चान्सलरका लागि संसदमा भएको मतदानमा आवश्यक बहुमत जुटाउनबाट चुकेका छन् ।
चान्सलर बन्नका लागि ३ सय १६ मत आवश्यक रहेकोमा उनले ३ सय १० मत मात्र प्राप्त गरे । जर्मन संसद् बुन्डेस्टागमा ६ सय ३० सदस्य छन् । जर्मनीको संघीय चुनाव जितेको साढे दुई महिनापछि भएको मतदानको नतिजामा मर्जलाई अप्रत्यासित झट्का लागेको हो ।
मध्य-वामपन्थीसँगको उनको गठबन्धनमा चान्सलरका लागि आवश्यक सांसदका लागि पर्याप्त सिट छन् । तर उनलाई समर्थन गर्ने अपेक्षा गरिएका १८ सांसद असहमत देखिएका छन् ।
पहिलो मतदानमा मर्जको असफलतालाई आधुनिक जर्मन इतिहासमा अभूतपूर्व मानिएको छ । बुन्डेस्टागसँग अब चान्सलरको रूपमा मर्ज वा अर्को उम्मेदवार छनौट गर्न अर्को १४ दिनको समय हुनेछ ।
