आज देश-दुनियाँमा के-के भयो ? 

वैशाख १४, २०८२

कान्तिपुर संवाददाता

What happened in the world today?

काठमाडौँ — चिकित्सक धर्नामा बस्दा बिरामी मर्कामा, आन्दोलनरत शिक्षक र प्रहरीबीच झडपदेखि औद्योगिक क्षेत्रमा मागअनुसार बिजुली दिन १५/२० दिन लाग्ने प्राधिकरणको भनाइसम्मका खबर आज चर्चामा रहे ।

000

आवासीय चिकित्सकलाई सरकारी आठौं तह सोसरह मासिक निर्वाह भत्ता उपलब्ध गराउन माग राख्दै आन्दोलरत चिकित्सकले आइतबार माइतीघरमा धर्ना दिएका छन् । काठमाडौं उपत्यकामा वर्षा भए पनि छाता ओढेर र रुझ्दै उनीहरु धर्नामा सहभागी भएको स्वास्थ्यकर्मीहरुका लागि सुरक्षित कार्यस्थल संर्घष समितिका डा. शेषराज घिमिरेले जनाए । नेपाल चिकित्सक संघको आह्वानमा शुक्रबार देशभरका सरकारी अस्पतालमा चिकित्सकले आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका थिए । 

000

आन्दोलनरत शिक्षकले निषेधित क्षेत्र प्रवेश गर्न प्रहरी ब्यारिकेड तोडेपछि प्रहरीसँग झडप भएको छ । केहीबेरअघि नयाँबानेश्वरमा झडप भएको हो । नयाँ बानेश्वरमा शिक्षकहरूले प्रहरी ब्यारिकेड भत्काएपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो । सो क्रममा प्रहरीले पानीको फोहोरा प्रहार गरेको थियो भने भिडबाट ढुंगामुढा प्रहार भएका थिए । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने करिब ६० जना शिक्षक घाइते भएको दाबी गरेका छन् ।  

000

काठमाडौंको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको रकम अपचलनको कसुरमा पक्राउ परेकी कांग्रेसकी सांसद माया राईलाई अदालतबाट तीन दिनको म्याद थप गरेर अनुसन्धान सुरु भएको छ । शनिबार राति आफ्नै निवास बुढानिलकण्ठ नगरपालिका-१० शिव मन्दिर कपनबाट पक्राउ परेकी राईलाई म्याद थपका लागि आइतबार काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको थियो । 

000

औद्योगिक क्षेत्रमा भइरहेको बिजुली कटौतीलाई लिएर नेपाल विद्युत् प्राधिकरण र उद्योगीहरुबीच छलफल भएको छ । आइतबार प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक दिर्घायुकुमार श्रेष्ठले नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका प्रतिनिधिहरुसँग छलफल गरेका हुन् । नेपालका नदीनालामा बहाव बढ्ने क्रममा रहेको र भारतबाट विद्युत् आपूर्ति सहज हुनासाथ बिजुली व्यवस्थापनको समस्या समाधान हुने भन्दै श्रेष्ठले ढिलोमा १५/२० दिनमा लाग्ने बताए । 

000

इरानको सबैभन्दा ठूलो व्यापारिक बन्दरगाहमा शनिबार बिहान विस्फोट हुँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । दक्षिणी इरानको शाहिद रजाई बन्दरगाह, बन्दर अब्बास नजिकै उक्त घटना भएको हो । विस्फोटमा आठ सय जना घाइते भएका छन् भने आगो अझै लागिरहेको विभिन्न सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

कान्तिपुर

Link copied successfully