कांग्रेस सांसद राईमाथि तीन दिनको म्याद थप, सहकारी ठगीमा अनुसन्धान

वैशाख १४, २०८२

विवेक पोख्रेल

Three days extension on Congress MP Rai, inquiry into co-operative fraud

काठमाडौँ — काठमाडौंको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको रकम अपचलनको कसुरमा पक्राउ परेकी कांग्रेसकी सांसद माया राईलाई अदालतबाट तीन दिनको म्याद थप गरेर अनुसन्धान सुरु भएको छ ।

शनिबार राति आफ्नै निवास बुढानिलकण्ठ नगरपालिका-१० शिव मन्दिर कपनबाट पक्राउ परेकी राईलाई म्याद थपका लागि आइतबार काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको थियो । 

अदालतबाट तीन दिनको म्याद लिएर उनीमाथि सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बताए ।

आइतबार नै सांसद राई पक्राउ परेकाबारे प्रहरीले सभामुख देवराज घिमिरेलाई जानकारी गरिएको थियो ।

राई २०७४ सालमा सहकारीको सहसचिव थिइन् । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन अभियोगमा गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने तथा नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल बञ्जाडे जोशीसहित ३९ जनाविरुद्ध गत पुसमा ठगी र संगठित अपराधमा मुद्दा दायर भएको थियो । स्वर्णलक्ष्मीका ६ सय ९० बचतकर्ताले १ अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ ठगी भएको भन्दै जाहेरी दिएका थिए । अनुसन्धानका क्रममा भने स्वर्णलक्ष्मीका कुल ५ हजार ६ सय ६९ बचतकर्ताको २ अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रुपैयाा संगठित रूपमा ठगी भएको निष्कर्षसहित अभियोजन गरिएको थियो ।

मुद्दा अभियोजन हुँदा मुख्य अभियुक्त जीबी राईसहित ३४ जना फरार थिए । स्वर्णलक्ष्मीबाट सेयरधनी, विभिन्न नाफामुखी कम्पनी र अनधिकृत व्यक्तिसम्मले विभिन्न मितिमा गैरकानुनी रूपमा रकम लगेर अपचलन गरेको अभियोगपत्रमा उल्लेख छ । त्यतिबेला राईलाई भने प्रतिवादी बनाइएको थिएन ।

पछि सरकारी वकिलको कार्यालयले उनीमाथि अनुसन्धान गर्न निर्देशन दिएपछि प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएको थियो । राई १४ औं महाधिवेशनमा जनजाति कोटाबाट केन्द्रीय सदस्य निर्वाचित भएकी हुन् । पार्टी सभापति शेरबहादुर देउवा समूहमा रहेकी उनी समानुपातिक सांसद हुन् । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतले लामिछानेलाई ६० लाख, अर्का अभियुक्त जोशीलाई ५० लाख रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको थियो ।

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully