इरानको व्यापारिक बन्दरगाहमा विस्फोट, २५ को मृत्यु 

वैशाख १४, २०८२

कान्तिपुर संवाददाता

Explosion at Iran commercial port, 25 dead

काठमाडौँ — इरानको सबैभन्दा ठूलो व्यापारिक बन्दरगाहमा शनिबार बिहान विस्फोट हुँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । दक्षिणी इरानको शाहिद रजाई बन्दरगाह, बन्दर अब्बास नजिकै उक्त घटना भएको हो ।

विस्फोटमा आठ सय जना घाइते भएका छन् भने आगो अझै लागिरहेको विभिन्न सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

विस्फोटले वरपरका भवनका झ्याल र छाना उडाएको र गाडीहरू नष्ट गरेको बीबीसीले जनाएको छ । स्थानीय बासिन्दाहरूले विस्फोटको असर ५० किलोमिटर टाढासम्म महसुस भएको बताएका छन् । सरकारी सञ्चारमाध्यमका अनुसार अझै ६ जना बेपत्ता छन् ।

बीबीसीले प्रमाणित गरेका भिडियोहरूमा आगो बढ्दै गएर ठूलो विस्फोट भएको देखिन्छ, जसपछि मानिसहरू डराएर भागिरहेका र कतिपय घाइते अवस्थामा धुवाँले ढाकिएको र सडकमा लडिरहेका छन् ।

बन्दरगाहको भन्सार कार्यालयले टेलिभिजनद्वारा प्रसारित विज्ञप्तिमा विस्फोट सम्भवतः खतरनाक र रासायनिक सामग्री भण्डारण डिपोमा लागेको आगोबाट भएको बताइएको छ ।

‘पूरै गोदाम धुवाँ, धुलो र खरानीले भरिएको थियो । म आफैं टेबलमुनि गएको थिएँ कि विस्फोटले त्यहाँ हुर्‍याएको थियो, याद छैन,’ घटनाका प्रत्यक्षदर्शीले इरानी राज्य टीभीलाई बताएका छन् । 

आकाशबाट खिचिएको भिडियोमा कम्तीमा तीन ठाउँमा आगो लागेको देखिन्छ । इरानका गृहमन्त्रीले पनि आगो एक कन्टेनरबाट अर्कोमा फैलिरहेको बताएका छन् । सो क्षेत्रका विद्यालय र कार्यालयहरू आइतबार बन्द रहने आदेश दिइएको छ ।

एक निजी समुद्री सुरक्षा सल्लाहकार कम्पनीका अनुसार विस्फोट भएका कन्टेनरहरूमा ‘बलिस्टिक मिसाइल’का लागि लैजाँदै गरिएको ठोस इन्धन थियो । एम्ब्रे इन्टेलिजेन्सका अनुसार भने इरानी ‘बलिस्टिक मिसाइल’मा प्रयोग हुने ठोस इन्धनको कार्गो सही तरिकाले नसम्हाल्दा आगलागी भएको हो । इरानी झन्डावाला एक जहाजले उक्त बन्दरगाहमा सोडियम पर्क्लोरेट अर्थात् रकेट इन्धन मार्च २०२५ मा झारेको एम्ब्रेले जनाएको छ । 

फाइनान्सियल टाइम्स पत्रिकाले यसअघि नै दुईवटा जहाजले चीनबाट इरानमा इन्धन पठाएको उल्लेख गरेको बीबीसीले जनाएको छ । राज्य सञ्चारमाध्यमले प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै बताएको छ, ‘आगलागी खुला कन्टेनरहरूमा रहेको ज्वलनशील सामग्रीमा फैलिँदा विस्फोट भएको हो ।'

Explosion at Iran commercial port, 25 dead

एम्ब्रेले पछि सार्वजनिक गरेको अपडेटमा इरानको राष्ट्रिय विपद् व्यवस्थापन संगठनका अनुसार अधिकारीहरूले यसअघि नै शाहिद राजई बन्दरगाहलाई रसायनको सुरक्षित भण्डारणबारे चेतावनी दिएका थिए । यो बन्दरगाह होर्मुजको जलडमरू मध्यमा रहेको छ, जुन तेल ढुवानीका लागि मुख्य मार्ग हो । यो इरानको दक्षिणी किनारमा रहेको प्रमुख बन्दरगाह सहर बन्दर अब्बासबाट करिब २० किलोमिटर पश्चिममा पर्छ । यहाँ इरानी नौसेनाको मुख्य आधारसमेत रहेको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार इरानको राष्ट्रिय तेल उत्पादन कम्पनीले बन्दरगाहमा भएको विस्फोटको देशका तेल प्रशोधन केन्द्र, इन्धन ट्यांकी र पाइपलाइनसँग कुनै सम्बन्ध नरहेको बताएको छ । 

इरानी राष्ट्रपति मसुद पेजेश्कियनले घटनाप्रति समवेदना व्यक्त गर्दै घटनाको छानबिन गर्न सरकारको तर्फबाट गृहमन्त्रीलाई उक्त क्षेत्रमा पठाएका छन् ।

विस्फोटको समयमा इरानी र अमेरिकी अधिकारीहरू इरानको आणविक कार्यक्रमबारे नयाँ वार्ताको चरणमा थिए । वार्ताका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तेहरानलाई आणविक हतियार बनाउन नदिन सम्झौता गर्ने प्रयासमा थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully