औद्योगिक क्षेत्रमा मागअनुसार बिजुली दिन १५/२० दिन लाग्छ : प्राधिकरण

वैशाख १४, २०८२

कान्तिपुर संवाददाता

It takes 15/20 days to provide power to industrial sector as per demand: Authority

काठमाडौँ — औद्योगिक क्षेत्रमा भइरहेको बिजुली कटौतीलाई लिएर नेपाल विद्युत् प्राधिकरण र उद्योगीहरुबीच छलफल भएको छ । आइतबार प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक दिर्घायुकुमार श्रेष्ठले नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका प्रतिनिधिहरुसँग छलफल गरेका हुन् । 

विद्युत् आपूर्तिको वर्तमान अवस्था तथा केही समय आद्यौगिक ग्राहकहरुमा विद्युत् कटौती गर्नुपर्ने अवस्थाका बारेमा छलफल भएको उद्योगीहरुले जनाए । 

भारतमै बढ्दो विद्युत् मागका कारण प्राधिकरणले अधिकतम मूल्यमा विद्युत् खरिद गर्न खोज्दासमेत नपाउँदा उद्योगीहरुको मागअनुसार बिजुली उपलब्ध गराउन नसकिएको प्राधिकरणले जनाएको छ । 

नेपालका नदीनालामा बहाव बढ्ने क्रममा रहेको र भारतबाट विद्युत् आपूर्ति सहज हुनासाथ बिजुली व्यवस्थापनको समस्या समाधान हुने भन्दै श्रेष्ठले ढिलोमा १५/२० दिनमा लाग्ने बताए ।

उद्योगीहरुलाई प्राथमिकतामा राखेर गुणस्तरिय भरपर्दो र निरन्तर विद्युत् आपूर्ति गर्न प्रतिबद्ध रहेको प्राधिकरणले जनाएको छ । 

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले प्राधिकरण र उद्योगि व्यवसायीबीच विश्वासको वातावरण सिर्जना भएको र आगामी दिनमा सहकार्यका लागि अझ सहज हुने बताए ।

प्राधिकरणले हाइड्रोमा मात्र नभई सोलार लगायत वैकल्पिक ऊर्जाको क्षेत्रमा पनि कार्य गर्नु पर्ने ढकालले बताए । परिसंघका प्रतिनिधि घनश्याम ओझाले प्राधिकरणको पहलले अहिलेको समस्या समाधन हुने बताए । प्राधिकरणले सप्लाई भएको विद्युत्‌को गुणस्तरमा जोड दिनुपर्ने उनले सुनाए । 

कान्तिपुर

Link copied successfully