आज देश-दुनियाँमा के-के भयो ?

वैशाख ५, २०८२

कान्तिपुर संवाददाता

What happened in the country today?

काठमाडौँ — राजदूत र न्यायाधीश बन्न कुलिङ पिरियड किन नलाग्ने ? कांग्रेस सांसदको प्रश्न, आफ्नै बोझ थाम्न नसकेर सरकार ढल्ने माओवादी अध्यक्ष दाहालको भनाइदेखि यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमणमा परी ५८ जनाको मृत्यु, कम्तीमा १२५ घाइतेसम्मका समाचार आज चर्चामा रहे ।

००००

निजामती कर्मचारीको उच्च पदबाट अवकाश पाएपछि शक्तिसँगको साँठगाँठले विभिन्न राजनीतिक, संवैधानिक र एनजीओ/आईएनजीओमा जाने प्रवृत्ति रोक्नका लागि 'कुलिङ पिरियड'को व्यवस्था समान रूपमा लागु गर्नुपर्ने कांग्रेस सांसद हृदयराम थानीले बताएका छन् । 

००००

प्रधानमन्त्री केपी शर्मा ओलीले १७ दिनदेखि आन्दोलनरत नेपाल शिक्षक महासंघका प्रतिनिधिलाई छलफलमा बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ ७ बजे छलफलमा डाकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । दिनभर सडक प्रदर्शनमा रहेका शिक्षक महासंघका पदाधिकारी र आन्दोलन परिचालन समितिका पदाधिकारी बैठकमा जुटेका छन् ।  

००००

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार आफ्नो बोझ आफैं थाम्न नसकेर ढल्ने अवस्था सिर्जना हुने बताएका छन् । 'कांग्रेस-एमालेलाई माओवादीले बोक्दा उनीहरुलाई फाइदा भयो,' उनले भने, 'अब हामी कसैलाई बोक्ने काम गरेर गल्ती गर्दैनौं ।' 

००००

अमेरिकी सेनाले यमनको हुथी विद्रोहीलाई लक्षित गरी शुक्रबार गरेको आक्रमणमा कम्तीमा ५८ जनाको मृत्यु भएको हुथी समूह निकट अल मसिराह टिभीले जनाएको छ । आक्रमणमा कम्तीमा १२५ जना घाइते भएका छन् । आक्रमणपछि दिइएको प्रारम्भिक जानकारीमा आक्रमणबाट हुथी समूहको नियन्त्रणमा रहेको इन्धन बन्दरगाह ध्वस्त भएको र कम्तीमा २० जनाको मृत्यु भएको बताइएको थियो ।  

००००

घरेलु टोली गण्डकी हिरोजले दोस्रो संस्करणको केपी ओली कप राष्ट्रिय खुल्ला टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । पोखरा क्रिकेट मैदानमा शुक्रबार भएको फाइनलमा सीईसी काठमाडौंलाई ५ विकेटले हराउँदै गण्डकी हिरोज च्याम्पियन बनेको हो । गण्डकीले उपाधिसँगै १० लाख, उपविजेता काठमाडौंले ५ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाए । 

कान्तिपुर

Link copied successfully