कास्की — घरेलु टोली गण्डकी हिरोजले दोस्रो संस्करणको केपी ओली कप राष्ट्रिय खुल्ला टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
पोखरा क्रिकेट मैदानमा शुक्रबार भएको फाइनलमा सीईसी काठमाडौंलाई ५ विकेटले हराउँदै गण्डकी हिरोज च्याम्पियन बनेको हो । गण्डकीले उपाधिसँगै १० लाख, उपविजेता काठमाडौंले ५ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाए । १ सय ८३ रनको लक्ष्य पाएको गण्डकीले १७.३ ओभरमा ५ विकेट गुमाएर १ सय ८५ रन बनायो । किरण ठगुनाले ५२ रन बनाए । उनले २६ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । सुजन थपलिया ३५ रनमा अउट भए । उनले २१ बलमा ६ चौका प्रहार गरे । दीपक डुम्रे २६, ओपनर साकिव हुक २४ रनमा आउट भए ।
गण्डकीका बसन्त कार्की २७ र नारायण जोशी १३ रनमा नटआउट रहे । अर्जुन कुमालले रन बनाउन सकेनन् । काठमाडौंका लागि दीपेन्द्र रावतले ३, मनोज यादव र सूर्य तामाङले १–१ विकेट लिए ।
टस जितेर ब्याटिङ थालेको काठमाडौं १९.४ ओभरमा १ सय ८२ रन बनाएर अलआउट भयो । अर्जुन घर्तीले सर्वाधिक ६८ रन बनाए । उनले ३४ बलमा ४ चौका र ६ छक्का प्रहार गरे । पृथु बास्कोटाले अर्धशतक बनाए । २९ बलमा ७ चौका र २ छक्काको मद्दतमा उनले ५० रन बनाए । शिवम तिवारीले २३ रन जोडे । अन्य ब्याट्सम्यान खास चलेनन् । दिनेश बोहोरा ८, सुशान्त सिंह थापा ६, रित गौतम र दीपेन्द्र रावत ४–४, सूर्य तामाङ ३, राजेन्द्र बम, युनिशविक्रम सिंह ठकुरी १ रनमा आउट भए । १ बल खेलेका मनोज यादव नटआउट रहे ।
गण्डकीका लागि अमृत गुरुङ र कृष्ण पौडेलले समान ३–३, विपिन खत्री र मिलन बोहराले २–२ विकेट लिए । गण्डकी हिरोजका किरण ठगुना प्लेयर अफ द म्याच घोषित भए । उनले ५ हजार रुपैयाँ र ट्रफी पाए ।
काठमाडौंका दीपेन्द्र रावत प्लेयर अफ द सिरिज घोषित भए । उनले ३० हजार रुपैयाँ प्राप्त गरे । अत्तरिया क्रिकेट एकेडेमीका विपिन रावल उत्कृष्ट ब्याट्सम्यान र लुम्बिनी खुकुरी क्रिकेट क्लबका अजयकुमार चौहान उत्कृष्ट बलर बने । दुवैले समान २०–२० हजार रुपैयाँ र ट्रफी प्राप्त गरे ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा चैत २३ देखि सुरू भएको प्रतियोगितामा १६ टिम सहभागी थिए । प्रतियोगिताको पहिलो संस्करणको उपाधि मधेश प्रदेशले जितेको थियो ।
