यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमणमा परी ५८ जनाको मृत्यु, कम्तीमा १२५ घाइते

वैशाख ५, २०८२

रासस

58 dead, at least 125 wounded in US attack on Yemen fuel port

साना — अमेरिकी सेनाले यमनको हुथी विद्रोहीलाई लक्षित गरी शुक्रबार गरेको आक्रमणमा कम्तीमा ५८ जनाको मृत्यु भएको हुथी समूह निकट अल मसिराह टिभीले जनाएको छ । आक्रमणमा कम्तीमा १२५ जना घाइते भएका छन् ।

आक्रमणपछि दिइएको प्रारम्भिक जानकारीमा आक्रमणबाट हुथी समूहको नियन्त्रणमा रहेको इन्धन बन्दरगाह ध्वस्त भएको र कम्तीमा २० जनाको मृत्यु भएको बताइएको थियो । रास इसा इन्धन बन्दरगाहमा भएको आक्रमणको उद्देश्य इरान समर्थित हुथी विद्रोहीका लागि आपूर्ति र कोषको स्रोत बन्द गर्नु रहेको अमेरिकी सेनाले जनाएको छ ।

रेड सी र एडेनको खाडीमा रहेका असैन्य पानीजहाज र सैन्य जहाजमाथिको आक्रमणलाई अन्त्य गर्न सकियोस् भनी वासिङ्टनले मार्च १५ देखि हुथी विद्रोहीमाथि दैनिकजसो हवाई आक्रमण गर्दै आएको छ ।

विद्रोहीहरूले सन् २०२३ को अन्त्यतिर गाजामा प्यालेस्टिनीहरूप्रति ऐक्यबद्धता जनाउँदै आक्रमण सुरु गरेका थिए । इजरायली सेनाले अमेरिकी आक्रमणपछि यमनबाट आउँदै गरेको क्षेप्यास्त्रलाई रोकेको शुक्रबार जनाएको छ । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'अमेरिकी सेनाले इरान समर्थित हुथी ‘आतङ्ककारी’का लागि इन्धनको यो स्रोतलाई समाप्त गर्न र उनीहरूलाई अवैध राजस्वबाट बञ्चित गर्न कदम चालेको छ । दश वर्षभन्दा बढी समयदेखि जहाजहरूलाई आतङ्कित पार्ने हुथी प्रयासविरूद्ध आर्थिक सहयोग गरेको छ ।'

'यी आक्रमणको उद्देश्य हुथीको शक्तिको आर्थिक स्रोतलाई कमजोर पार्नु रहेको छ । हुथीले यमनमो शोषण जारी राखेका छन् र आफ्नो विरोधी यमनी नागरिकहरूलाई समेत ठूलो पीडा दिइरहेका छन् ।'

वासिङटनले यस वर्षको सुरुमा विद्रोहीलाई विदेशी आतङ्कवादी सङ्गठन घोषणा गरे पनि अमेरिकी लगानीका जहाजहरूले ‘रास इसा’ बन्दरगाहमार्फत इन्धन आपूर्ति जारी राखेका छन्,” सैन्य कमान्डले इन्धनको स्रोत निर्दिष्ट नगरीकन उल्लेख गरेको छ । 

हुथी स्वास्थ्य मन्त्रालयका प्रवक्ता अनीस अलासबाहीले पाँच जना प्यारामेडिक्ससहित २० जनाको मृत्यु भएको पुष्टि भएपनि मृतकको संख्या यो भन्दा निकै बढी भएको बताए । 

रासस

Link copied successfully