काठमाडौँ — आइतबार इकान्तिपुरमा तीनकुने घटनाबारे पूर्वराजा ज्ञानेन्द्र शाहको टिप्पणीदेखि यू-१९ विश्वकप क्रिकेटमा नेपालको जितसम्मका समाचार छापिएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले हिंसात्मक तीनकुने घटनाबारे बोलेका छन् ।
नयाँ वर्ष-२०८२ का अवसरमा भिडियो सन्देश जारी गर्दै ज्ञानेन्द्रले तीनकुने घटनामा दु:ख व्यक्त गरेका हुन् । कुनै पनि दल, वर्ग र जनसमुदायले आफ्ना धारणा र मान्यता प्रस्तुत गर्दा संयम अपनाउनुपर्ने पनि उनले बताएका छन् ।
तीनकुने घटनामा भएको हिंसा र तोडफोडका साथै मानवीय क्षतिप्रति दु:ख व्यक्त गरेका हुन् । 'केही दिनअघि जनप्रर्दशनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड भयो त्यसबाट जस प्रकारको मानवीय एवं भौतिक क्षति भयो त्यो सुन्दा हामीलाई अत्यन्तै दु:ख लाग्यो,' उनले भनेका छन् ।
सप्तरीको राजगढ गाउँपालिका-४ जमुवा टोलमा एक दलित मुसहर परिवारको घर स्थानीय जनप्रतिनिधिको निर्देशनमा भत्काइएको छ । वडाध्यक्ष अशोककुमार साहले सामुदायिक भवन बनाउनका लागि भन्दै गत चैत २६ मा जबरजस्ती डोजर लगाएर घर भत्काएको पीडित रञ्जनकुमारी सदाले बताइन् ।
चैत चैत ३ देखि स्थानीयको अवरोधपछि ठप्प रहेको नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काम आइतबारदेखि प्रहरीको सुरक्षामा पुन: थालिएको छ । २८ दिनपछि नेपाल प्रहरीको सुरक्षामा आजदेखि सुरुङमार्गको काम पुनस् सुरु भएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीले बताए ।
नेपालले यू–१९ ले एसीसी यू–१९ विश्वकप एसिया छनोटमा यूएई यू–१९ लाई डक वर्थ लुइस पद्धतिमा ५ रनको जित हात पारेको छ । रायको अविजित १ सय ४ रनमा २ सय १ रनको लक्ष्य लिएर आएको यूएईले ३६ ओभरमा ७ विकेट गुमाई १ सय ७१ रन बनाएको समयमा खेल सामान्य वर्षा र मधुरो प्रकाशका कारण खेल रोकिएको थियो, जतिखेर नेपाल डक वर्थ लुइस पद्धतिमा ५ रनले अगाडि थियो ।
इजरायली सेनाले आइतबार गरेको हवाई आक्रमणमा गाजामा सञ्चालनमा रहेको एक मात्र अस्पताल अल-अहली ब्याप्टिस्ट अस्पतालको एक भाग ध्वस्त भएको छ । आक्रमणका कारण अस्पतालको सघन हेरचाह र शल्यक्रिया विभाग ध्वस्त भएका प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।
