काठमाडौँ — यायिन किरण रायको शतकलाई पन्छाउँदै नेपाले यू–१९ ले एसीसी यू–१९ विश्वकप एसिया छनोटमा यूएई यू–१९ लाई डक वर्थ लुइस पद्धतिमा ५ रनको जित हात पारेको छ ।
रायको अविजित १ सय ४ रनमा २ सय १ रनको लक्ष्य लिएर आएको यूएईले ३६ ओभरमा ७ विकेट गुमाई १ सय ७१ रन बनाएको समयमा खेल सामान्य वर्षा र मधुरो प्रकाशका कारण खेल रोकिएको थियो, जतिखेर नेपाल डक वर्थ लुइस पद्धतिमा ५ रनले अगाडि थियो ।
खेल रोकिनु २ बल अगाडि सन्तोष यादवले करण धिमनलाई १५ रनमा एलबीडब्लू आउट गर्नु खेलमा नेपालको निर्णायक मोड बन्यो, जसले नेपाललाई डक वर्थ लुइस पद्धतिमा यूएईभन्दा अगाडि ल्याएको थियो । त्यत्तिखेर साँझको ५.३५ भइसकेको थियो । अम्पायरहरूले त्यसको २० मिनेटपछि थप खेल हुन नसक्ने भनेपछि नतिजा नेपालको पक्षमा आएको थियो ।
राईले ९६ बलको इनिङ्समा ८ चौका र ५ छक्का प्रहार गरी नेपालको हातबाट खेल निकाल्ने प्रयास गरेका थिए । नेपालले पहिलो ओभरमा दुवै ओपनर आयन मिसबाह (४) र अक्षत राई (०) लाई आउट गरे पनि किरण राई र रायन खानले तेस्रो विकेटका लागि १६ ओभरमा ७५ रनको साझेदारी गरे । रायनले ५१ बल खेली ३ चौका र २ छक्का प्रहार गरी ३५ रन बनाए ।
नेपालबाट सन्तोष र अशोक धामीले २–२ विकेट लिए । सन्तोषले ८ ओभरमा १ मेडन राख्दै २३ र अशोकले ८ ओभरमा १ मेडन राख्दै २७ रन खर्चेका थिए । अभिषेक तिवारी र कप्तान नरेन भट्टले १–१ विकेट लिए ।
यसअघि नरेनको अर्धशतकमा टस हारेपछि ब्याटिङमा आएको नेपाल ४० ओभरमा छोट्याइएको खेलमा ९ विकेट गुमाई २ सय रन बनाएको थियो । नरेनले मूलपानी क्रिकेट रंगशालामा खेलिएको पहिलो अन्तर्राष्ट्रिय खेलमा ६७ रन बनाए । उनले ७५ बल खेल्दै ७ चौका प्रहार गरे । साहिल पटेल र निरजकुमार यादवले ८ ओभर भित्र ३२ रन जोडी नेपाललाई मध्यम सुरुआत दिलाएका थिए ।
निरज २४ बल खेली ३ चौका प्रहार गरी १८ रनमा आउट भए । साहिलले ५४ बल खेली ४ चौका प्रहार गरी ३२ रन बनाए । सन्तोष यादव ११, रोशन विश्वकर्मा ४, अभिषेक तिवारी १, दर्श सोनार ५ र अपराजित पौडेल शून्यमा आउट भए । दिलशाद अलीले ४० बल खेली १ छक्कासहित ३४ रन बनाए ।
अशोक धामी ८ बलमा १० रन बनाई अविजित रहे । यूएईबाट उदिस सुरीले ३ विकेट लिए । उनले ८ ओभरमा १ मेडन राख्दै २६ रन खर्चे । युग शर्मा र सालोम डी सुजाले २–२ विकेट लिए ।
मैदान भिजेका कारण निर्धारित समयभन्दा साढे २ घण्टा ढिला ११.३० मा सुरु भएको थियो । नेपाल र यूएईसहित अफगानिस्तान, ओमान र हङकङ समावेश यो प्रतियोगिता राउन्ड रोबिनको आधारमा हुनेछ र विजेता टोली आईसीसी यू–१९ विश्वकपमा पुग्ने छ ।
