जेरुसलेम — इजरायली सेनाले आइतबार गरेको हवाई आक्रमणमा गाजामा सञ्चालनमा रहेको एक मात्र अस्पताल अल-अहली ब्याप्टिस्ट अस्पतालको एक भाग ध्वस्त भएको छ । आक्रमणका कारण अस्पतालको सघन हेरचाह र शल्यक्रिया विभाग ध्वस्त भएका प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।
सामाजिक सञ्जालहरूमा सार्वजनिक भिडियोमा दुई तले भवनमा क्षेप्यास्त्र प्रहार भएपछि ठूलो आगो र धुवाँ फैलिएको देखिन्छ । भिडियोमा अस्पतालको बेडमा रहेका केही बिरामी तथा अन्य मानिसलाई घटनास्थलबाट भाग्दै गरेको देख्न सकिन्छ ।
इजरायली रक्षा बल (आईडीएफ) ले अस्पतालमा प्यालेस्टिनी समूह हमासको ‘कमाण्ड एण्ड कन्ट्रोल’ केन्द्र सञ्चालनमा रहेकाले आक्रमण गरेको दाबी गरेको छ ।
अस्पतालमा रहेका एक स्थानीय पत्रकारले आईडीएफले आपत्कालीन विभागमा कार्यरत एक चिकित्सकलाई फोन गरेर तत्कालै अस्पताल खाली गर्न भनेको थियो । ‘सबै बिरामी तथा विस्थापितहरू सुरक्षित दूरीमा जानुपर्छ,’ ती अधिकारीले भने, ‘बाहिर निस्कन २० मिनेट मात्र छ ।’
अस्पतालसँग सम्बद्ध जेरुसलेमको एपिस्कोपल डायोसिसले अस्पतालबाट हतारमा मानिसहरूलाई बाहिर निकाल्नु परेकाले टाउकोमा चोट लागेको एक बच्चाको ज्यान गएको जनाएको छ । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले अस्पताल भवन पूर्ण रूपमा ध्वस्त भएको जनाएको छ । आक्रमणपछि बिरामी तथा अस्पतालका कर्मचारीलाई अन्यत्र सार्नुपरेको मन्त्रालयले जनाएको छ ।
