चार नाबालक सन्तानसहित महिला छिमेकीको शरणमा
राजविराज — सप्तरीको राजगढ गाउँपालिका-४ जमुवा टोलमा एक दलित मुसहर परिवारको घर स्थानीय जनप्रतिनिधिको निर्देशनमा भत्काइएको छ । वडाध्यक्ष अशोककुमार साहले सामुदायिक भवन बनाउनका लागि भन्दै गत चैत २६ मा जबरजस्ती डोजर लगाएर घर भत्काएको पीडित रञ्जनकुमारी सदाले बताइन् ।
जमुवा टोलस्थित सार्वजनिक पोखरीको डिलमा बाबुबाजेकै पालादेखि बसोबास रहेकामा वडाध्यक्ष साहले आफूहरुको सहमतिबिना जबरजस्ती डोजर लगाई घर भत्काएपछि बिचल्लीमा परेको उनले दुखेसो सुनाइन् ।
'मेरो पति र ससुरा बुबा घरमा रहँदासम्म केही गरेनन्, चैत २२ गते रोजगारिका लागि उहाँहरू पञ्जाब जानुभयो । चार दिनपछि वडाध्यक्ष र उनले परिचालन गरेका व्यक्तिहरुले जबरजस्ती घर भत्काए,' रञ्जनकुमारीले भनिन्, 'घर नरहेपछि चार नाबालक छोरासहित छिमेकीको घरमा शरण लिएर बसेको छु ।'
जबर्जस्ती घर भत्काएपछि उनले चैत २९ गते न्यायको माग र दोषीलाई कारबाहीको गर्दै प्रमुख जिल्ला अधिकारीलाई निवेदन दिएकी थिइन् । उनको निवेदनमा प्रजिअ भोला दहालले सम्बन्धित पालिकासँग सवन्मय गरी छानबिनसहित आवश्यक सहजीकरण गर्न जिल्ला प्रहरी कार्यालय सप्तरीका नाममा तोक आदेश गरेका थिए ।
राजगढ-४ का वडाध्यक्ष अशोककुमार साहले भने सामुदायिक भवन निर्माणका लागि सबैको सहमतिमा रञ्जनकुमारीको घर भत्काएको दाबी गरे ।
सप्तरीका एसपी ढकेन्द्र खतिवडाले वडा कार्यालयले सार्वजनिक जग्गामा रहेको घर सामुदायिक भवन बनाउन भत्काएको जानकारी आएको बताएका छन् । 'सामुदायिक भवन बाहेकको जग्गामा आवश्यक परे रञ्जनकुमारीको घर निर्माण गरिदिने कुरा वडाध्यक्षले बताएका छन्,' उनले भने ।
राजगढ गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलले प्रदेश सरकारबाट सामुदायिक भवन बनाउन २५ लाख रुपैयाँ बजेट आएको र भवन बनाउन वडा कार्यालय जग्गाको खोजीमा रहेकोसम्म जानकारी भएको बताए ।
