काठमाडौँ — शुक्रबार इकान्तिपुरमा नयाँ शिक्षा ऐन जारी गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ, सर्वोच्च अदालतमा रवि लामिछानेको निवेदनदेखि दुर्गा प्रसाईंलाई अनुसन्धानका लागि १२ दिन हिरासतमा राख्न अदालतको अनुमतिसम्मका समाचार प्रकाशित भएका छन् ।
शुक्रबार बुटवलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले नयाँ शिक्षा ऐन जारी हुने बताएका छन् । एमाले लुम्बिनी प्रदेशले शुक्रबार बुटवलमा आयोजना गरेको जागरण सभामा प्रधानमन्त्री ओलीले आन्दोलनरत शिक्षकलाई सम्बोधन गर्दै सरकारले समस्या समाधान गर्ने बताएका हुन् । ‘लामो समयदेखि ऐन रोकिएर बसेको छ, हामी त्यसलाई ल्याउँछौं भनेकै छौं, भावनामा बगेर समस्या समाधान हुँदैन, हामीले उपयुक्त समयमा राष्ट्रको हित हुने गरी ऐन कानुन ल्याउँछौं र व्यवस्थित ढंगले सबै समस्याको समाधान गर्छौं ,' प्रधानमन्त्री ओलीले भने ।
चैत १५ गतेको राजावादी समूहको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंलाई अनुसन्धानका लागि अदालतले प्रहरीलाई १२ दिनको म्याद दिएको छ । शुक्रबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले राज्यविरुद्धको कसुरमा प्रसाईंमाथि अनुसन्धान गर्न १२ दिनको म्याद दिएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले बताए ।
उच्च अदालत तुलसीपुर, बुटवल इजलासको थुनामा पठाउने आदेशविरुद्ध रास्वपा सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा बेरीतको आदेश बदर गरीपाउँ भन्दै निवेदन दर्ता गराएका छन् । शुक्रबार लामिछानेको निवेदन उनकी पत्नी निकिता पौडेल, रास्वपाकी सहप्रवक्ता प्रतीभा रावल र कानुन व्यवसायी नारायण कँडेल सर्वोच्च पुगेर दर्ता गराएका हुन् ।
फोर्ब्सले हालै सार्वजनिक गरेको विश्वका अर्बपतिहरूको नयाँ सूचीमा मनोरञ्जन क्षेत्रका सेलेब्रिटीहरू पनि समावेश छन् । सूचीअनुसार हाल विश्वभर ३ हजार २८ जना अर्बपति छन् भने उनीहरूको संयुक्त सम्पत्ति १६.१ ट्रिलियन अमेरिकी डलर छ । तीमध्ये मनोरञ्जन क्षेत्रबाट १८ जना अर्बपति रहेको र उनीहरूको कुल सम्पत्ति ३९ अर्ब डलर रहेको फोर्ब्समा पत्रकार मोनिका हन्टर हार्टले लेखेकी छन् ।
त्यस्तै नेपालका अन्तर्राष्ट्रिय मास्टर राजु क्षेत्री शुक्रबार विश्व तेक्वान्दो मुख्यालय (कुकिवन) को अन्तर्राष्ट्रिय कमिटीको उपाध्यक्षमा मनोनीत भएका छन् । तेक्वान्दोको अन्तर्राष्ट्रिफ रेफ्रीका रुपमा सक्रिय रहँदैं आएका क्षेत्री त्यहाँसम्म पुग्ने पहिलो नेपाली हुन् ।
