काठमाडौँ — उच्च अदालत तुलसीपुर, बुटवल इजलासको थुनामा पठाउने आदेशविरुद्ध रास्वपा सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा बेरीतकाे आदेश बदर गरीपाउँ भन्दै निवेदन दर्ता गराएका छन् । शुक्रबार लामिछानेको निवेदन उनकी पत्नी निकिता पौडेल, रास्वपाकी सहप्रवक्ता प्रतीभा रावल र कानुन व्यवसायी नारायण कँडेल सर्वोच्च पुगेर दर्ता गराएका हुन् ।
सर्वोच्च अदालतका सूचना अधिकारी उपरजिस्ट्रार निराजन पाण्डेका अनुसार लामिछानेको निवेदन दर्ता भइसकेको छ । उक्त निवेदनको पेशी आइतबारका लागि तोकिएको छ ।
गत चैत २२ गते उच्च अदालत तुलसीपुर, बुटवलले इजलासले जिल्ला अदालत रुपन्देहीको फैसला बदर गर्दै लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । हाल लामिछाने थुनुवाका रुपमा रुपन्देही कारागारमा छन् ।
