दुर्गा प्रसाईंमाथि राज्यविरुद्धको कसुर : अनुसन्धान गर्न १२ दिनको म्याद

क्यान्सरको बिरामी भएकाले प्रसाईंको उपचारको प्रबन्ध मिलाउन आदेश

चैत्र २९, २०८१

कान्तिपुर संवाददाता

Crime against state on Durga Prasai: 12 days to investigate

काठमाडौँ — चैत १५ गतेको राजावादी समूहको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंलाई अनुसन्धानका लागि अदालतले प्रहरीलाई १२ दिनको म्याद दिएको छ ।

शुक्रबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले राज्यविरुद्धको कसुरमा प्रसाईंमाथि अनुसन्धान गर्न १२ दिनको म्याद दिएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले बताए । 

त्यस्तै प्रसाईंसँगै पक्राउ परेका उनका अंगरक्षक दीपक खड्काविरुद्ध पनि १२ दिनको म्याद थप भएको छ ।  सूचना अधिकारी श्रेष्ठका अनुसार प्रसाईं क्यान्सरको बिरामी भएका कारण अदालतले प्रहरीलाई चिकित्सकको परामर्शमा उपचारको प्रबन्ध गर्न अदालतले आदेश दिएको छ।

 १५ चैतको प्रदर्शनका नाममा हिंसा भड्काएर उनी फरार रहेकोमा बिहीबार प्रहरीको विशेष ब्युरोले भारतमा प्रकाउ गरी आज बिहान उनलाई भद्रपुर ल्याएको थियो । त्यसपछि उनलाई जहाजबाट काठमाडौं ल्याइएको हो ।

व्यवसायी प्रसाईंले अगुवाइ गरेर चैत ४ गते राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्ष राप्रपाका नेता नवराज सुवेदीको नेतृत्वमा राजसंस्था पुन:स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन गरिएको थियो । सुवेदीले उनै प्रसाईंलाई जनआन्दोलन समितिको कमान्डर पनि घोषणा गरेका थिए ।

चैत १५ गते प्रसाईंले नै भाँडभैलो मच्चाएपछि राजावादीहरूको प्रदर्शन हिंस्रक बनेको थियो । प्रदर्शनका क्रममा एक सञ्चारकर्मीसहित २ जनाको मृत्यु भएको थियो । साथै दर्जनौँ गाडीमा आगजनी र व्यक्तिगत तथा सरकारी सम्पत्तिमा समेत आगजनी भएको थियो ।

दुर्गा प्रसाईं

कान्तिपुर

Link copied successfully