आन्दोलनरत शिक्षकलाई प्रधानमन्त्रीको आग्रह : शिक्षा ऐन जारी गर्छौं, भावनामा बगेर आन्दोलन नगर्नुस्

चैत्र २९, २०८१

घनश्याम गौतम

Prime Minister's request to the protesting teachers: We will issue the Education Act, do not get carried away by emotions and protest

बुटवल — प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ शिक्षा ऐन जारी गर्ने बताएका छन् । एमाले लुम्बिनी प्रदेशले शुक्रबार बुटवलमा आयोजना गरेको जागरण सभामा प्रधानमन्त्री ओलीले आन्दोलनरत शिक्षकलाई सम्बोधन गर्दै सरकारले समस्या समाधान गर्ने बताएका हुन् । 

'शिक्षक साथीहरू आन्दोलनमा हुनुहुन्छ, तपाईंहरूका पनि अप्ठ्यारा छन्, समस्या छन्, तिनै अप्ठ्यारा र समस्या समाधान गर्न यो सरकार बनेको हो,’ उनले भने, ‘लामो समयदेखि ऐन रोकिएर बसेको छ, हामी त्यसलाई ल्याउँछौं भनेकै छौं, भावनामा बगेर समस्या समाधान हुँदैन, हामीले उपयुक्त समयमा राष्ट्रको हित हुने गरी ऐन कानुन ल्याउँछौं र व्यवस्थित ढंगले सबै समस्याको समाधान गर्छौं ।' 

शिक्षकहरू २० चैतदेखि सडक आन्दोलनमा छन् भने सोमबारदेखि देशव्यापी शैक्षिक हडताल घोषणा गरेका छन् ।सरकारले २१ र २६ चैतमा विज्ञप्तिमार्फत र २२ चैतमा पत्र लेखेर शिक्षकहरूलाई वार्तामा बोलाएको थियो ।

तर विगतमा भएका सहमति मन्त्रिपरिषद्बाट अनुमोदन र विद्यालय शिक्षा ऐन जारी गर्ने सुनिश्चिततासहितको प्रतिबद्धता सरकारी निकायबाट आए मात्र वार्तामा बस्ने भन्दै शिक्षक महासंघले विज्ञप्ति नै जारी गरेको थियो । अहिले पनि वार्ता र सहमति गर्नेभन्दा पनि विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने आफ्नो मुख्य माग रहेको महासंघले जनाएको छ ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully