काठमाडौँ — फोर्ब्सले हालै सार्वजनिक गरेको विश्वका अर्बपतिहरूको नयाँ सूचीमा मनोरञ्जन क्षेत्रका सेलेब्रिटीहरू पनि समावेश छन् । सूचीअनुसार हाल विश्वभर ३ हजार २८ जना अर्बपति छन् भने उनीहरूको संयुक्त सम्पत्ति १६.१ ट्रिलियन अमेरिकी डलर छ । तीमध्ये मनोरञ्जन क्षेत्रबाट १८ जना अर्बपति रहेको र उनीहरूको कुल सम्पत्ति ३९ अर्ब डलर रहेको फोर्ब्समा पत्रकार मोनिका हन्टर हार्टले लेखेकी छन् ।
खेलकुद, संगीत, फिल्म र मिडिया क्षेत्रका चर्चित हस्तीहरू अर्बपति सेलेब्रिटीको सूचीमा परेका छन् । फोर्ब्सका अनुसार सन् २०२४ मा मनोरञ्जन क्षेत्रका अर्बपतिहरूको कुल सम्पत्ति ३१ अर्ब डलर रहेकोमा सन् २०२५ मा बढेर ३९ अर्ब पुगेको छ । यसपटक सूचीमा समावेश हुने नयाँ सेलेब्रिटीहरूमा कमेडियन जेरी सेनफिल्ड, अभिनेता तथा राजनीतिकर्मी आर्नल्ड स्वार्जनेगर, रेसलिङ प्रमोटर भिन्सेन्ट म्याकमोहन र गायक ब्रुस स्प्रिङस्टिनको नाम उल्लेख छ ।
सन् २०१४ मै अर्बपति बनेका चर्चित बास्केटबल खेलाडी माइकल जोर्डन सेलेब्रिटी अर्बपतिको सूचीमा सबैभन्दा अगाडी छन् । सक्रिय खेल जीवनपछि पनि उनले निरन्तर वित्तीय सफलता हासिल गर्दै आएका छन् । उनको कुल सम्पत्ति अहिले ३.५ अर्ब डलर पुगेको छ । नाइकीसँगको साझेदारी र सार्लट हर्नेट्स बास्केटलब टिमको स्वामित्व बिक्रीले उनको सम्पत्ति बढाइदिएको फोर्ब्सले जनाएको छ । सन् २०२३ मा जोर्डनले सार्लोट होर्नेट्समा आफ्नो बहुमत स्वामित्व ३ अर्ब डलरमा बिक्री गरेका थिए ।
ओप्रा विन्फ्रे, ३ अर्ब डलर
मिडिया क्षेत्रकी चर्चित हस्ती ओप्रा विन्फ्रे टेलिभिजन, प्रकाशन र वेलनेस क्षेत्रमा लगानी गरेर अर्बपतिका रूपमा स्थापित छिन् । सन् २००३ मा फोर्ब्सको अर्बपति सूचमा पर्ने उनी पहिलो अफ्रिकी-अमेरिकी महिला बनेकी थिइन् । मनोरञ्जन उद्योगमा अझै पनि उनको प्रभाव बलियो छ । सन् २०२५ मा उनको कुल सम्पत्ति ३ अर्ब अमेरिकी डलर पुगेको छ । उनी सन् १९७० को दशकमा समाचार प्रस्तोताका रूपमा मिडिया प्रवेश गरेकी थिइन् । पछि उनले ‘द ओप्रा विन्फ्रे शो’ सञ्चालन गरिन् । त्यसले उनलाई अन्तर्राष्ट्रिय ख्याति दिलाएको हो ।
जे-जी, २.५ अर्ब डलर
हिपहप विधाका ख्यातिप्राप्त संगीतकर्मी जे-जीले आफ्नो सम्पत्ति ‘उबर’जस्ता प्रविधि कम्पनी, रक्सी ब्रान्ड र मनोरञ्जन क्षेत्रमा लगानी गरेर आर्जन गरका हुन् । सन् २०१९ मा फोर्ब्सको सूचीमा समावेश हुने उनी पहिलो हिप-हप अर्बपति बनेका थिए । जे जीले संगीतमार्फत ख्याती कमाए पनि आफ्नो सम्पत्ति संगीतभन्दा बाहिरका लगानी र व्यवसायबाट आर्जन गरेका हुन् ।
टेलर स्विफ्ट, १.६ अर्ब डलर
विश्वप्रसिद्ध पप गायिका टेलर स्विफ्ट संगीत र लाइभ प्रस्तुतिमार्फत अर्बपतिको सूचीमा पुग्ने पहिलो कलाकार हुन् । सन् २०२३ मा पहिलोपटक अर्बपति बनेकी स्विफ्टको सम्पत्ति त्यो बेला १.१ अर्ब डलर रहेकोमा हाल १.६ अर्ब डलर पुगेको छ । यसमा करिब ६ सय मिलियन डलर रोयल्टी र वर्ल्ड टुरबाट संकलन भएकोमा ६ सय मिलियन डलर संगीत क्याटलगबा६ र १२५ मिलियन डलर रियल स्टेटबाट आर्जन गरिएको फोर्ब्सले जनाएको छ । टेलरले ‘इराज टुर’ मा ६ सय दिनभन्दा धेरै समय १४९ वटा कन्सर्टमा प्रस्तुति दिएकी थिइन् ।
रिहाना, १.४ अर्ब डलर
प्रख्यात गायिका रिहानाले सन् २००५ मा संगीत क्षेत्रमा प्रवेश गरेकी थिइन् । ‘अन्डर माई अम्ब्रेला’, ‘डायमन्ड्स’, ‘वि फाउन्ड लभ इन होपलेस प्लेस’ जस्ता लोकप्रिय गीत गाएकी उनले व्यवसायमा पनि सफलता प्राप्त गरेकी छिन् । ‘फेन्टी ब्युटी’ नामक सौन्दर्य प्रसाधन कम्पनी उनको सम्पत्तिको मुख्य स्रोत हो । यसमा मा उनको ५० प्रतिशत स्वामित्व छ । रिआनाले ‘स्याभेज एक्स फेन्टी’ नामक लञ्जरी ब्रान्डमा पनि लगानी गरेकी छिन् ।
टायलर पेरी, १.४ अर्ब डलर
अफ्रिक-अमेरिकी निर्देशक, अभिनेता र निर्माता टायलर पेरीले फिल्म, टेलिभिजन कार्यक्रम र स्टेज प्लेहरूमार्फत उल्लेखनीय आम्दानी गरेका छन् । उनले एटलान्टामा ‘टायलर पेरी स्टुडियोज’ नामक विशाल स्टुडियो सञ्चालन गर्दै आएका छन् । टायलरले निर्माण गरेको ‘मडिया’ नामक वेब सिरिज औधी लोकप्रिय छ । यसबाट टायलरले ६६० मिलियन डलरभन्दा धेरै आर्जन गरेको याहु डटकममा उल्लेख छ ।
लेब्रन जेम्स, १.३ अर्ब डलर
अमेरिकी बास्केटबल सुपरस्टार लेब्रन जेम्सले खेल मैदानबाहिर मिडिया, खेल फ्रेन्चाइज र अन्य व्यवसायमा लगानी गर्दै आफ्नो सम्पत्ति विस्तार गरेका छन् । उनले अमेरिकाको नेसनल बास्केटबल एसिसोएसन (एनबीए) करियरमा क्लिभल्यान्ड काभलियर्स, मियामी हीट र लस एन्जलस लेकर्स समूहबाट खेलेका थिए । नाइकी, पेप्सीको र वालमार्टजस्ता ठूला कम्पनीहरूसँग विज्ञापन सम्झौताहरू गरेका लेब्रनको स्प्रिङहिल कम्पनी, ब्लेज पिज्जा र फेनवे स्पोर्ट्स ग्रुपमा लगानी छ ।
म्याजिक जोनसन, १.२ अर्ब डलर
पूर्वएनबीए खेलाडी म्याजिक जोनसनले खेलकुद, रियल स्टेट र मनोरञ्जन क्षेत्रमा लगानी गर्दै विविध व्यावसायिक साम्राज्य खडा गरेर अर्बपतिहरूको सूचीमा पुगेका छन् । उनले लस एन्जलस लेकर्समा आबद्ध भई बास्केटबल खेलेर पाँचपटक च्याम्पियनसिप जितेका थिए । खेलबाट अवकाश लिएपछि जोनसनले ‘म्याजिक जोन्सन इन्टरप्राइजेज’ स्थापना गरेर विभिन्न उद्योगहरूमा लगानी गर्दै आएका छन् ।
किम कार्दाशियन, १.२ अर्ब डलर
अमेरिकी रियालिटी टीभी स्टार तथा व्यावसायी किम कार्दाशियन अहिले चल्तीकी सोसल मिडिया इन्फ्लुएन्सर हुन् । फोर्ब्सले उनलाई सन् २०२१ मा पहिलोपटक अर्बपति घोषणा गरेको थियो । त्यो बेला उनको कुल सम्पत्ति १ अर्ब डलर आकलन गरिएको थियो । किमका ‘स्किम्स’ नामक शरीरलाई छरितो वा स्लिम देखाउन मद्दत गर्ने भित्री पहिरनको ब्रान्ड, केकेडब्लु ब्युटी नामक सौन्दर्य प्रसाधन कम्पनी, मोबाइल गेमलगायतमा लगानी गरेकी छन् । स्किम्सको मूल्यांकन ३.२ अर्ब अमेरिकी डलर छ ।
डिक वुल्फ, १.२ अर्ब डलर
ग्रामी र एमी पुरस्कार विजेता डिक वुल्फ ‘ल एन्ड अर्डर’ र ‘एफबीआई’ जस्ता चर्चित क्राइम-सिरिजहरूका कारण चर्चित छन् । वुल्फले आफ्नो टेलिभिजन करियरबाट अर्बौं डलर कमाएका हुन् । उनले सन् १९९० मै ‘ल एन्ड अर्डर’ टेलिभिजन कार्यक्रम बनाएका थिए । यो श्रृंखला अमेरिकी टेलिभिजन इतिहासमा सबैभन्दा लामो समयसम्म चल्ने अपराध-प्रधान कार्यक्रमहरूमध्ये एक हो । उनले ‘सिकागो फायर’, ‘सिकागो मेड’ जस्ता कार्यक्रम पनि निर्माण गरेका छन् । हाल उनले नेटफ्लिक्ससँग मिलेर ‘होमिसाइड: न्यु योर्क’ नामक डकुमेन्ट्री बनाएका छन् । यसमा न्युयोर्कका मर्डर केस (हत्या घटना) हरूको अनुसन्धान प्रस्तुत गरिएको छ ।
