काठमाडौँ — सोमबार कान्तिपुरमा संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनदेखि सुनको भाउ हालसम्मकै महँगो भएका समाचार प्रकाशित भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनाको जिम्मेवारी पूर्व राजा ज्ञानेन्द्र शाहले लिनुपर्ने बताएका छन् ।
सोमबार प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले चैत १५ को आपराधिक घटनामा संलग्न कसैले पनि उन्मुक्ति नपाउने बताए ।
'यसमा तत्कालीन राजा शाहले पनि उन्मुक्ति पाउनु हुन्न । फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै शृंखलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नुपर्दैन,' प्रधानमन्त्री ओलीले भने । प्रतिपक्षी दलहरू रास्वपा र राप्रपाले गत शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा घटित घटनाबारे उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न माग गरेका छन् ।
त्यस्तै रास्वपा सभापति रवि लामिछानेले आफ्नो नेतृत्वको पार्टीको संविधान र व्यवस्थाप्रतिको विश्वासलाई लिएर पटक-पटक प्रश्न उठाउनु सही नभएको बताए । उनले पटक(पटक आफ्नो पार्टी वर्तमान लोकतान्त्रिक व्यवस्था र संविधानप्रति प्रतिबद्ध रहेको बताए । पार्टी कार्यालयमा सोमबार कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले व्यवस्थाका नाममा जनतालाई धोका दिन नहुने स्पष्ट पारे ।
त्यसैगरी आइतबार प्रतितोला १ लाख ७६ हजार ८ सय रुपैयाँ कायम भएको सुनको मूल्य आज तोलामा एक हजार एक सय बढेर एक लाख ७७ हजार नौ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर दुई हजार ३५ रुपैयाँ पुगेको छ ।
मुस्लिम धर्मावलम्बीहरूले आज इद उल फित्र मनाएका छन् । आज बिहानै मुस्लिम धर्मावलम्बीहरू शुद्ध भई नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढी एक आपसमा मित्रवत् रूपमा शुभकामना साटासाट गरेका छन्। इद उल फित्र मुस्लिम समुदायको महत्त्वपूर्ण चाडमध्ये एक हो।
त्यस्तै फ्रान्सको एक अदालतले चरम दक्षिणपन्थी दल नेसनल र्याली (आरएन) की नेतृ मरिन ले पेनलाई आर्थिक हिनामिनाको मुद्दामा दोषी ठहर गर्दै पाँच वर्षका लागि सार्वजनिक पदमा प्रतिबन्ध लगाएको छ । उनले सन् २०२७ मा हुने राष्ट्रपतीय चुनावमा प्रतिस्पर्धा गर्न नपाउने भएकी छन् । अदालतको निर्णयसँगै फ्रान्सको राष्ट्रपति बन्ने उनको चौथो प्रयास पनि असफल हुने निश्चित भएको छ ।
